काठमाडौं । साताको अन्तिम कारोबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ दोहोरो अंकले घटेको छ । बिहीबार ३७.०६ अंकले घटेर २२ सय ३८ बिन्दुमा झरेको छ । बिहीबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से २२७५ केही समय ओरालो लागेर पुनः केहीबेर माथि लागेर निरन्तर तलतिर झरेर २२ सय ३८ बिन्दुमा अडिएको छ । लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर मूल्यसमेत निकै सस्तो भइसकेको छ ।
मूल्य निकै तल्लो बिन्दुमा आए पनि अपेक्षाअनुसार खरिदकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकमा सहज तरलता उपलब्ध नभएकाले सेयर बजारमा आकर्षण बढ्न नसकेको अनुमान गरिएको छ । निक्षेपको ब्याज बढ्ने संकेत देखिँदा बजार बढ्न नसकेको जानकार बताउँछन् ।
तरलताको समस्या समाधान नभएसम्म बजार नबढ्ने देखिएको छ । यस दिन ५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर छ ।
सर्वाधिक सेयर मूल्य उचालिएका कम्पनी
उच्च अंकले घटेको बजारमा नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक अंकले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस दिन लघुवित्तको सेयर मूल्य १३८ रुपैयाँले बढेर प्रतिकित्ता सेयर मूल्य १५ सय २० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आरएमडिसी लघुवित्तको सेयर मूल्य १ दशमलव २७ प्रतिशतले बढेको छ । अन्य तीन कम्पनीको सेयर मूल्य भने सामान्य दरले बढेको छ ।
सेयर मूल्यमा उच्च गिरावट आएका कम्पनी
यस दिन कारोबारमा आएका २३२ कम्पनीमध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६।८६ प्रतिशतले घटेको छ । साथै, मैलुङ खोला हाड्रोपावरको शेयरमूल्य ६ दशमलव ८१ प्रतिशत, शिव श्री हाइड्रोपावरको सेयर मूल्य ६ दशमलव ६३ प्रतिशतले घटेको छ ।
सर्वाधिक सेयर खरिद बिक्री भएका कम्पनी
यस दिन सूर्य लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड ४५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको ६ करोड ७३ लाख र नबिल बैंकको ४ करोड ५२ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।