काठमाडौं । अनेकन विश्लेषण देखाएर सोझासाझा लगानीकर्तालाई तन्नम कम्पनीको सेयर किन्न उत्प्रेरित गर्ने स्वघोषित विज्ञमाथि नियामक निकायले सूक्ष्म निगारानी बढाउन थालेको छ ।
केही व्यक्तिले आफू जान्ने पल्टिएर सोझासाझा लगानीकर्तालाई हरेक हिसावले कमजोर कम्पनीको सेयरमा प्रलोभन पार्ने गरेको गुनासा बोर्डमा पुगेपछि त्यस्ता व्यक्तिको व्यक्तिगत विवरण तथा उनीहरुका गतिविधि नियालीरहेको छ ।
प्राविधिक विश्लेषण देखाएर लगानीकर्तामा ठूलो भ्रम छर्ने परिपाटी वर्षौंदेखि छ । वर्षौंसम्म शून्य प्रतिफल र समस्याग्रस्तबाट भरखरै माथि उठेका कम्पनीलाई राम्रो देखाउने सोझासाझा लगानीकर्तालाई त्यस्ता कम्पनीको सेयर किन्न उत्प्रेरण दिने व्यक्ति तथा समूहमाथि बोर्डले निगरानी बढाएको हो ।
अहिले बजारमा समूह समूह बनाउने र यो कम्पनीको सेयर किन्दा राम्रो हुन्छ भनेर प्रचार गर्ने प्रवृत्ति मौलाउँदै गएको बोर्डको अनुसन्धानबाट देखिएको छ । आफूलाई सेयर बजारको विज्ञको रुपमा उभ्याउने र आफूले सेयर किनेका कम्पनीको मात्रै मूल्य बढ्छ भनेर प्राविधिक विश्लेषण देखाएर लगानीकर्ता फसाएको समेत बोर्डले फेला पारेको छ ।
विभिन्न कम्पनी खडा गर्ने र सार्वजनिक आह्रवान गरेर उक्त कम्पनीको सेयर बेच्ने प्रपञ्चमाथि बोर्डले कारबाही प्रक्रिया अघि बढाइरहेको छ । त्यसबाहेक भ्रम छरेर सेयर किनाउनेमाथि पनि सूक्ष्म निगरानी गरिरएको बोर्ड स्रोतले बताएको छ ।
खासगरी, धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भइसकेपछि बजार शुद्धीकरण गर्न मिहिन रुपमा काम गरिरहेका छन् । केही दिनअघि लेखा व्यवसायीको कार्यक्रममा हमालले कानुन अभावका कारण बजारका अराजक तत्वहरुलाई कानुनी दायरामा ल्याउन नसकिएको बताएका थिए ।
‘कानुनी छिद्रता खोजेर बजारमा खेल्नेहरु प्रशस्तै छन’ हमालले कार्यक्रममा भने, ‘उनीहरुले गल्ती गरेको देखिन्छ । तर, कानुनी दायरामा ल्याउन कानुन अभाव छ ।’ त्यही भएर बोर्डले कडा कानुन निर्माणको समेत तयारी थालेको हो ।