काठमाडौं । एचआर गोयल ग्रुपअन्तर्गतको सप्तकोसी सिमेन्ट प्राइभेट लिमिटेडको आम्दानी बर्सेनि बढ्दै गएको छ । उद्योगले सन् २०२१ मा सिमेन्ट उत्पादन तथा बिक्रीबाट २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
उद्योगले अघिल्लो वर्ष सन् २०२० मा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सप्तकोसीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी २०.३३ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बढेको छ ।
सन् २०१९ मा उद्योगले १ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । वित्तीय विवरण हेर्दा कोरोना महामारीमा पनि सप्तकोसीको सिमेन्टको व्यापार उकालो लागेको छ ।
सप्तकोसीले १ अर्ब १२ करोड रुपैयाँ ऋणको केयर नेपाल लिमिटेडबाट रेटिङ गराएको छ । उद्योगले केयरएनपी डबल बी प्लस रेटिङ पाएको छ ।
सन् १९९६ मा मोरङको कटहरीमा स्थापना भएको उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ६ सय टन रहेको छ । उद्योगमा दुइटा सिमेन्ट प्लान्ट छन् । जसमा एउटाले ५ सय र अर्कोले दैनिक १ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले सन २०१८ देखि व्यावसायिक रुपमा दोस्रो प्लान्टबाट सिमेन्ट उत्पादन थालेको हो । उद्योगले सप्तकोसी र नेसनल ब्राण्डमा ओपीसी र पीसीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योगको उत्पादन क्षमता बढेर ८९ प्रतिशत पुगेपछि व्यापार विस्तार हुँदा आम्दानीमा सुधार आएको हो । सन् २०२० मा उद्योगको सिमेन्ट उत्पादन क्षमता ७९ प्रतिशत थियो । उत्पादन विस्तार भए पनि बजारमा भएको कडा प्रतिस्पर्धाले मार्जिन घटेको उद्योगले जनाएको छ ।
कारखाना विराटनगर नजिक भएकाले उद्योगले सिमेन्टको बजार पूर्वमा नै केन्द्रित गरेको छ । उद्योगले मेची, कोसी, सगरमाथा र जनकपुरमा सिमेन्टको बिक्रीवितरणमा केन्द्रित गरेको जनाएको छ । उद्योगको ग्रान्डिङ युनिट मात्र रहेको छ ।
उद्योगले कच्चा वस्तु क्लिंकर खरिद गर्दै आएको छ । ९० प्रतिशत क्लिंकर ग्रुपको लगानी रहेको होङसी शिवम् सिमेन्टबाट खरिद गर्दै आएको छ । बाँकी १० प्रतिशत भारतबाट आयात हुने गरेको उद्योगले जनाएको छ ।
नेसनल सिमेन्टको नामबाट २१ वर्षअघि स्थापना भएको उद्योगले ग्रान्डिङ मेसिनबाट दैनिक १०० टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । सन् २०१८ पछि मात्र उद्योगले क्षमता विस्तार गरेर दैनिक ६०० टन पुर्याएको हो ।
ग्रुप सिमेन्ट, केमिकल, जलविद्युत, बिमा, व्यापार र निर्माण व्यवसायमा संलग्न छ । सिमेन्ट उद्योगमा ग्रुपको २३ वर्ष लामो अनुभव रहेको छ । उद्योगको अध्यक्षमा आशिष गोयल छन् ।
नेपालमा जलविद्युत, सडक, विमानस्थल र पर्यटनलगायत अन्य पूर्वाधार निर्माणले गति लिएको छ । नेपालमा पर्याप्त सिमेन्ट उत्पादन भइरहँदा पनि चालू आर्थिक वर्षको ८ महिनामा भारतबाट २४ करोड १० लाख रुपैयाँ बराबरको ४७ हजार ८२६ टन सिमेन्ट क्लिंकर आयात भएको भन्सार विभागले जनाएको छ ।