काठमाडौं । चालू आर्थिक वर्षमा ३ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न हुने भएको छ । देशभरी ११ वटा सुरुङमार्ग सम्भाव्यता अध्ययनको चरणमा रहे पनि ३ वटाको मात्रै सम्भाव्यता अध्ययनको काम सम्पन्न हुने भएको हो ।
नेपालमा हाल २२ वटा सुरुङमार्ग विभिन्न चरणमा रहेका छन् । ती मार्ग अध्ययन तथा निर्माणाधीन अवस्थामा रहेका छन् । जसमध्ये नागढुंगा सुरुङमार्ग निर्माणाधीन अवस्थामा र सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेक्का सम्झौता २०७८ माघमा भएको छ ।
त्यसबाहेक अन्य सुरुङमार्गहरु सम्भाव्यता र विस्तृत सम्भाव्यता अध्ययनको क्रममा रहेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
२२ वटा मध्ये सिद्धबाबासहित १५ वटा सुरुङमार्ग सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) सौरभ बज्राचार्य बताउँछन् । उनका अनुसार केन्द्रलाई स्वदेशी लगानीमा निर्माण हुने १५ वटा सुरुङमार्गको मात्रै जिम्मेवारी रहेको छ ।
वैदेशिक सहायता तथा ऋण अनुदानमा निर्माण हुने अन्य सुरुङमार्गको जिम्मेवारी सडक विभागअन्तर्गतकै अन्य निकायलाई दिइएको छ । १५ वटा सुरुङमार्गमध्ये ३ वटाको चालू आर्थिक वर्ष अर्थात् असारमसान्तमा सम्भाव्यता अध्ययन सम्पन्न हुने सिडिई बज्राचार्य बताउँछन् ।
११ वटा सुरुङमार्ग अध्ययनको चरणमा
स्वदेशी लगानीमा निर्माण गर्न लागिएका १५ वटा मध्ये ११ वटा सुरुङमार्ग सम्भाव्यता अध्ययनको चरणमा रहेका छन् । जसअनुसार बागलुङ ब्यु–नरेठाटी, फुस्रेखोलला–छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडिखोला सुरुङमार्ग, रारा राजमार्ग कुशेपाटन (जाजरकोट) ब्याउलिढुंगा र जुम्ला इमिलचा खोला सुरुङमार्ग, मझिम्टार शक्तिखोर सुरुङमार्ग, प्रवास जोर्ते (पाल्पा) सुरुङमार्ग, बबई छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययनको क्रममा छन् ।
त्यस्तै ताथली रविआपी सुरुङमार्ग, सुनमाई राजदुबोल सुरुङमार्ग, बीपीनगर खटिया सुरुङमार्ग, गोदावरी मानेचौर सुरुङमार्ग, धरान लेउती सुरुङमार्ग सम्भाव्यता अध्ययनको क्रममा रहेका छन् ।
असारमा अध्ययन सकिने सुरुङमार्ग
सम्भाव्यता अध्ययनको चरणमा रहेका ११ वटा मध्ये ३ वटाको अध्ययन चालू आव अर्थात् असारसम्म सकिदैछ । उक्त ३ वटा सुरुङमार्गमा बीपीनगर खटिया, गोदावरी मानेचौर र धरान लेउती सुरुङमार्ग रहेका छन् । उक्त ३ वटा सुरुङमार्गको आर्थिक वर्ष गत आर्थिक वर्षबाट सम्भाव्यता अध्ययन सुरु भएको थियो ।
यी ३ वटा बाहेक अन्य ९ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन चालू आवमा सुरु भएको हो । आगामी आर्थिक वर्ष ०७९०८० मा मात्रै अध्ययन सम्पन्न हुने केन्द्रले जनाएको छ ।
अध्ययनको चरणमा २ सुरुङमार्ग
सम्भाव्यता अध्ययनको चरणमा रहेका ११ वटा बाहेक अन्य २ वटा सुरुङमार्ग विस्तृत सम्भाव्यता अध्ययनको चरणमा पुगेका छन् । हाल दुम्किबास–बर्दाघाट र हेम्जा–नायाँपुल सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको सीडीई बज्राचार्य बताउँछन् । यद्यपि चालु आवबाट विस्तृत सम्भाव्यता अध्ययन सुरु भएकाले आगामी आर्थिक वर्षमा मात्रै अध्ययन सम्पन्न हुने केन्द्रले जनाएको छ ।
सम्भाव्यता अध्ययनको चरणमा ११ वटा र विस्तृत सम्भाव्यता अध्ययनको चरामा २ वटा गरी अध्ययनको क्रममा मात्रै १३ वटा सुरुङमार्ग छन् । स्वदेशी लगानीमा निर्माण हुने १५ वटा सुरुङमार्ग मध्ये सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्गको ठेक्का सम्झौता भएको छ भने, दोलखाको लामा बगर सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
११ सय २६ मिटर लामो सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँ ५ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । त्यस्तै सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको दोलखाको लामाबगर सुरुङमार्गको डीपीआर तायार भए पनि ठेक्का सम्झौता हुन सकेको छैन । लामाबगरमा ९५० मिटर लामो सुरुङ बन्ने केन्द्रले जनाएको छ ।
वैदेशिक सहयोगमा निर्माण हुने ६ सुरुङमार्ग
वैदेशिक अनुदान तथा ऋण सहायतामा निर्माण हुने सुरुङमार्गको संख्या ६ वटा रहेका छन् । जसमध्ये जापानले बीपी राजमार्ग अन्तर्गतको खुर्कोट–चियाबारी सुरुङमार्ग र अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर जडीबुटी सुरुङमार्ग निर्माण गर्नेछ ।
त्यस्तै चीनले टोखा–छहरे–गुर्जभञ्याङ सुरुङमार्ग र रसुवा बेत्रावती सुरुङमार्ग निर्माण गर्ने बताइएको छ । यद्यपि कोरोना संक्रमण सुरुभएदेखि नै चिनियाँ पक्ष नेपालको सम्पर्कमा नरहेको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।
२२ वटा मध्ये बाँकी २ वटामा कुलेखानी–भिमफेदी सुरुङमार्ग बागमती प्रदेश र गणेशमान सिंहमार्गको थानकोट–चित्लाङ सुरुङमार्ग एसडीसीले निर्माण गर्ने बताइएको छ ।
नागढुङा सुरुङमार्ग भने ४० वर्षका लागि जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा १६ अर्ब ६० करोड रुपैयाँ ऋण र नेपाललेले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेर निर्माण भइरहेको छ । जलविद्युत आयोजनामा मात्र सुरुङ खन्ने गरिएकोमा सडकको दुरी कम सरकारले सुरुङमार्गको योजना ल्याएको हो ।