काठमाडौं । साझा यातायातले चीनबाट खरिद गरेको विद्युतीय बसको परीक्षण सञ्चालन भएको छैन । साझाले चैत ३० गते ३ वटा विद्युतीय बस तातोपानी नाकाबाट नेपाल भित्र्याएको थियो ।
नेपाल भित्र्याएपछि बसको परीक्षण गर्ने जिम्मेवारी नेपाल इलेक्ट्रिक भेहिकल इण्डष्ट्रिज (दीगो ग्रुप) को हो । तर, दिगोले बस ल्याएको ३ हप्तासम्म पनि परीक्षण नगर्दा साझाको विद्युतीय बस गुडाउने समय निश्चित हुन सकेको छैन ।
किन ढिलो हुँदैछ परीक्षण ?
दिगो ग्रुपका मार्केटिङ डेभलपमेन्ट अफिसर अस्मित बजगाईंले सार्वजनिक विदा बढी परेकाले परीक्षण गर्न ढिलाई भएको बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने ‘जनशक्तिलगायत आवश्यक सबै कुरा तयार भएको तर विद्युतीय बस नेपाल आएपछि धेरै दिन सार्वजनिक विदा परेकाले परीक्षण हुन सकेको छैन’ उनले भने ।
दिगोले बसको प्राविधिक परीक्षण गर्नुपर्ने छ । तर, परीक्षण सकेर साझालाई कहिलेसम्म बस जिम्मा लगाउँछ ? भन्ने जवाफ दिगो ग्रुपले दिन सकेको छैन । साझालाई बस दिने विषयमा बजगाईँ भन्छन्, ‘परीक्षण सुरु भएको छैन, केही समय अझै लाग्छ, चुनाव आउँदैछ अहिले नै भन्न सक्ने अवस्था छैन । ’
बाँकी बस ल्याउन ढिलाइ हुने
साझा यातायाताले ४० वटा विद्युतीय बस चीनबाट ल्याउने सम्झौता गररेको थियो । जसमध्ये ३ वटा बस पहिलो चरणमा ल्याएर परीक्षण गरेपछि मात्रै बाँकी ३७ वटा बस नेपाल ल्याउने योजना साझाको छ ।
यसअघि भदौसम्ममा बाँकी बसहरु नेपाल ल्याउने बताउँदै आएको साझाले अब ढिलाइ हुने जनाएको छ । साझा यातायाताका सञ्चालक समिति सदस्य भुषण तुलाधरका अनुसार पहिला तोकिएको भन्दा करिब ३ हप्ता अन्य बस आउन ढिलो हुने छ ।
दिगोले बसको परीक्षण गर्न ढिलो गर्दा बाँकी बस ल्याउने समय लम्बिने तुलाधरको भनाइ छ । क्यापिटल नेपालसँग कुरा गर्दै तुलाधर भन्छन्, ‘३ वटा बस परीक्षणको क्रममा छन्, प्राविधिक परीक्षण गर्न समय लाग्छ । ठ्याक्कै भन्न सकिदैन पहिला भदौसम्म बाँकी ३७ वटा बस नेपाल भित्र्याउने योजना थियो, अब २/३ हप्ता बढी समय लाग्न सक्छ ।’
नेपाल ल्याइएका ३ वटा बस उपयुक्त छन् वा छैन भन्ने परीक्षण गरेपछि मात्रै बाँकी बस निर्माण गर्न अनुमति दिने साझाले जनाएको छ । हालसम्म अन्य बस निर्माण भएका छैनन् । यद्यपि सम्झौता भने भइसकेको छ ।
दिगोले सडकमा गुडाउन उपर्युक्त हुन्छ नभनेसम्म साझाले विद्युतीय बस सञ्चालन गर्न नपाउने तुलाधर बताउँछन् । तर, दिगोले बसको प्राविधिक पक्ष चेक गर्न ढिलाई गर्दा अन्य बस नेपाल ल्याउनको लागि समय लम्बिने निश्चित छ ।
साझा यातायातले चीनबाट ४० वटा विद्युतीय बस नेपालमा ल्याउने तयारी गरेको हो । जसमध्ये परीक्षणको लागि ३ वटा बस सुरुमा ल्याएको हो ।
साझाले विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत चीनको सीएचटीसीसँग सम्झौता गरेको थियो । सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत उसैले गर्ने उल्लेख छ ।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ र बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टस्का लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्र्ने हुन्छ ।
हाल नेपाल भित्रिएका ३ वटा विद्युतीय बस पनि ४४ करोड रुपैयाँ भित्रैबाटै खरिद गरिएको हो । नेपाल भित्रिएका उक्त बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री रहेका छन् । सीएचटीसी कम्पनीले एकपटक फूलचार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर विद्युतीय बस २०० किलोमिटर गुड्ने जनाएको छ ।