काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का मुख्यसचिवसहितको टोलीबीच भएको दोस्रो छलफलले पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
पछिल्लो समय भएको अत्याधिक मूल्यवृद्धि समायोजन, बिमाको प्रिमियम दरमा भएको मूल्यवृद्धिको निर्देशिका खारेज, राजस्व, भुक्तानीलगायत समस्या समाधान गर्नुपर्ने महासंघको माग छ ।
महासंघको उक्त मागको विषयमा यस अघि वेशाख १६ गते मुख्यसचिवसहितको टोलीसँग महासंघका अध्यक्षसहितले छलफल गरेका थिए ।
सो समयमा महासंघको मागका विषयमा बुझेको मुख्य सचिवको टोलीले आन्तरिक छलफल गर्नेभन्दै बुधबार फेरि छलफल गर्ने जनाएको थियो ।
तर, बुधबार पनि कुनै निष्कर्ष ननिस्किएको महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । यद्यपि छलफल सकरात्मक भएको उनले बताए ।
‘वार्ता सौहार्दपूर्ण वातावरणमा सकारात्मक भएको छ । तर, कानुनी र नीतिगत कुराका लागि शुक्रबार फेरि छलफल हुन्छ’, अध्यक्ष सिंहले भने ।
बुधबार महासंघका पदाधिकारी र मुख्यसचिवसहितको टोलीबीच २ घण्टा लामो छलफल भएको थियो ।