पाल्पा । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेका छन् ।
'रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याइएको छ', उनलेभ भने, 'नगर प्रमुख पदमा निर्वाचित भएमा नमुना डिजिटल रामपुर बनाउने मेरो संकल्प छ ।'
कतिपय वडा कार्यालय भाडाका घरमा सञ्चालन भइरहेको हुँदा त्यसको व्यवस्थापन गरी सहज सेवा दिने र प्रत्येक वडा वडामा एम्बुलेन्स सेवा सञ्चालन गरेर प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता अर्यालले व्यक्त गरेका छन् । विकासका पूर्वाधारहरुलाई स्तरोन्नति गर्ने र अधुरा कामलाई पूरा गरी अबको ५ वर्षभित्र रामपुरलाई समुन्नत र नमूना नगर बनाउने योजनासहित रामपुरका उम्मेदवारहरु चुनाव प्रचार अभियानमा छन् ।
उम्मेदवारहरूले एक वर्षभित्र हिलोरहित रामपुर नगर, स्वरोजगार कार्यक्रम, कृषिमा एक नगर एक विशेष उत्पादन कार्यक्रम, नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्धन, एक वडा एक उद्यान कार्यक्रम र हवाई मैदान निर्माणजस्ता योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
यस्तै उम्मेदवारहरुले पर्यटन प्रवर्धन, खानेपानी, फोहरमैला व्यवस्थापनजस्ता विषयलाई चुनावी मुद्दा बनाइरहेका छन् ।