पोखरा । पर्यटकीय क्षेत्र घोरेपानीका होटल व्यवसायी महिलाले पर्यटक लिएर आउने गाइड र पोर्टरहरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको बताएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वयमा पोखराका महिला पर्यटन व्यवसायी (ओटेफ) ले म्याग्दी घोरेपानीका होटल व्यवसायी महिलासँग गरेको क्षमता विकास एवं अन्तरक्रिया कार्यक्रम सहभागीहरूले पर्यटक लिएर आउने गाइड पोर्टरहरूलाई लामो समयदेखि निःशुल्क रूपमा खाने बस्ने गरेको जनाउँदै यसले व्यवसायमा समस्या थपिँदै गएको बताएका हुन् ।
घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष मीना पुनले भनिन्, “हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै निःशुल्क खान बस्ने दिनुभयो आज त्यो ‘कल्चर’ले हामीलाई समस्यामा पार्दै लगेको छ ।” उनले मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको जनाउँदै विदेशी पर्यटकले समेत ‘फ्रि’मा कोठा माग्ने गरेको थुप्रै अनुभव सुनाइन् ।
उनले भनिन्, “म २० वर्ष युके बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ तर नेपालमा हेपाहा प्रवृत्ति लिएर आउँछन्”, उनले पर्यटकका यस्ता व्यवहारबाट यस क्षेत्रका धेरै व्यवसायीहरू पीडित भएको कतिपय अवस्थामा विदेशी पर्यटक विवाद पनि गर्नुपरेको बताइन् ।
उनले पहिलो चोटी व्यवसायीका समस्यामा केन्द्रित महिलाको क्षमता विकास लक्षित कार्यक्रम लिएर घोरेपानी आएकामा ओटेफलाई धन्यवादसमेत दिइन् । उनले भनिन्, “आजसम्म कोही आएर हाम्रा समस्याबारे सोधेनन् तर बाहिर–बाहिर घोरेपानीमा खाना बस्न निकै महँगो छ भन्ने हल्ला मात्र फिजाए । आज बल्ल खुलेर आफ्ना कुराहरू राख्न पायौं, यो कार्यक्रम ल्याइदिनु भएकामा यहाँहरूलाई धेरै–धेरै धन्यवाद”, उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आवश्यकता रहेको बताइन् ।
अर्का होटल व्यवसायी महिला जुली ठकुरी पुनले घोरेपानीलाई पर्यटकको एक उत्कृष्ट गन्तब्य बनाउन आफूहरूले प्रदान गर्ने होटलका सेवा सुविधामा निकै ध्यान दिएको बताइन् । उनले सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ल्याउनुपर्ने र ढुवानी खर्च निकै महँगो भए पनि त्यसको तुलनामा आफूहले निकै सस्तोमा खाना बस्ने व्यवस्थाको प्रबन्ध गरेको जानकारी दिइन् ।
उनले ६ सयदेखि ८ सय ५० सम्मको खाना, सुविधा हेरेर ३ सयदेखि २ हजार भित्रका कोठाहरूलाई महँगो भन्न नमिल्ने बताइन् । उनले आन्तरिक पर्यटक र विद्यार्थीहरूलाई भने सहुलियत दिने गरेको बताइन् ।
साे क्षेत्रका सहभागी अन्य व्यवसायी महिला विष्णु पुन, ललिता पुन, सपना गुरुङ, मन्चुरी पुन, देउती पुनलगायतले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ आइरहेको र लैंगिक हिसाबले पनि महिला व्यवसायीलाई अलि हेप्ने गरेको, एक्लै व्यवसाय सञ्चालन गरेका महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको केही अनुभवहरूसमेत सुनाएकी थिइन् ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले लैंगिक हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तीकरणको महत्व र नेतृत्व विकासको अपरिहार्यताको विषयमा सहजीकरण गरेकी थिइन् ।
ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका समस्या कतिपय साझा रहेको जनाउँदै महिला सशक्तीकरण लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको औंल्याइन् । उनले यस क्षेत्रका व्यवसायीहरू एक भएर अघि बढ्न सके देखिएका समस्याहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरिन् ।
संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिन पर्यटन मैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वयमा जोड दिनुपर्ने बताइन् ।
कार्यक्रम सहभागी ओटेफका सदस्यहरूले घोरेपानी पुनहिल जाने पर्यटकलाई आवश्यक सूचना साथै पदयात्रा सामग्री बिक्री वितरण गर्दै आए पनि आज स्थलगत रूपमा घोरेपानी पुगेर त्यस क्षेत्रको अवलोकन गर्दा थप ज्ञान हासिल गर्न सफल भएको र आगामी दिन पर्यटकलाई यस क्षेत्रका बारेमा सही सूचना दिन सकिने धारणा राखेकी थिइन् ।
कार्यक्रममा ओटेफका सचिव शर्मिला न्यौपानेले व्यवसायी महिलाको अनुभव आदानप्रदान धेरै कुराहरू बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिनमा ओटेफले घोरेपानीको पर्यटन प्रवर्धनमा सकारात्मक भूमिका खेल्ने बताइन् । संस्थाका सदस्य रीता रेग्मी (मुना)ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।