काठमाडाैं। चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेन्डसिप अवार्ड’ प्रदान गरेको छ ।
चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।
साङ्सी सरकारको सबैभन्दा ठूलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड र सर्बियाका व्यक्तित्व रहेका छन् ।
उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पुर्याउने विज्ञहरुलाई सरकारले प्रतिस्पर्धाका आधारमा यो अवार्ड प्रदान गर्ने गर्दछ ।
साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट सन् २०२२ का लागि १० जना छनोट गरिएको सियानस्थित सियान मेडिकल युनिभर्सिटीले जनाएको छ ।
यस अवार्डका लागि साङ्सी प्रान्तीय सरकारले सन् २०२१ को जुनमा वेभसाइटमार्फत आवेदन आह्वान गरेको थियो । सो आवेदनबाट ‘सर्ट लिस्ट’ मा परेका विज्ञहरुमध्येबाट नेपालका झा छानिएकाे विश्वविद्यालयले जनाएको छ ।
सन् १९९९ देखि हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो अवार्ड प्राप्त गर्ने प्रा डा. झा पहिलो नेपाली हुन् । यसअघि सन् २०१८ मा उनलाई यहाँको सियान सरकारले सियान फ्रेन्डसिप अवार्ड प्रदान गरेको थियो ।
प्रा.डा. झा दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् । पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधि र त्यसपछि विद्या वाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा. झाको नाममा सियान प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।