काठमाडौं । आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगको वित्तीय पक्ष सुदृढ हुँदै गएको दाबी गरे । पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकेको छ र आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने बताइएको छ ।
ओभर ड्राफ्ट रकम भुक्तानीपछि ५ महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रूपमा निगमलाई ठूलो राहत भएको छ ।
निगमले चालू आर्थिक वर्ष ०७८/०७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी ५ अर्ब ७० करोड रुपैयाँ थियो ।
निगमले दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियतप्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको सावाँ-ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको जनाएको छ ।
निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी १ अर्ब ३३ करोड ९९ लाख ७६ हजार रुपैयाँ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा १ अर्ब २७ करोड दुई लाख ५१ हजार रुपैयाँ वित्तीय आम्दानी बचत गरेको देखिन्छ ।
निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुइटा न्यारोबडी र ए३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जनाएको छ ।
विसं २०७८ कात्तिकमा न्यारोबडी जहाजले सात घण्टा ३८ मिनेट र वाइडबडी जहाजको ६ घण्टा ३६ मिनेट उडान भरेकामा २०७९ चैतमा न्यारोबडीको ९ घण्टा ४८ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट जहाज उपयोगिता भएको थियो ।
निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निगमले हाललाई हप्तामा दुुई वटा उडानबाट प्रारम्भ गरिसकेको छ । बजार मागअनुसार आगामी दिनमा अझ थप उडान विस्तार गर्ने कार्ययोजना रहेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।
निगमले साउदी अरेबियाको जेद्दा र दमाममा पनि उडान अनुमति पाएको छ । रियाद (साउदी अरेबिया) नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपालीहरू त्यहाँ रहेक र यात्रुसंख्या एवं भाडादरका कारणले थप आकर्षक गन्तव्य पनि हो । निगमले विभिन्न कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन गरिसकेको छ ।
निगमले हाल भारतको नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गरिरहेको छ । यस्तै मुम्बईमा साताको तीन, बैंलाेरमा साताको तीन उडान भर्दै आएको छ । त्यसैगरी दोहा र दुबई समान साताको पाँच उडान तथा हङकङमा साताको एक उडान, क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ ।
बैंककमा साताको तीन उडान र रियादमा साताको दुई उडान सञ्चालन गरिरहेको निगमले जनाएको छ । निगमले ११औं नयाँ गन्तव्यको रुपमा चीनको ग्वान्झाउ र १२ औं गन्तव्यका रुपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तारको लक्ष्य राखेको छ ।
निगमले धनगढी र नेपालगञ्जलाई आधार बनाएर सुदूर पश्चिममा नियमित उडान सञ्चालन गरिरहेको छ । २०७८ सालको दशैँको अवधिमा आएको बेमौसमी वर्षात र बाढी–पहिरोले नेपालको पश्चिम पहाडी जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैँ मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेकोले तत्कालै उद्धार हुने गरी बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लाहरुमा धनगढी र नेपालगञ्जलाई आधार बनाएर उद्धार उडान सञ्चालन गरिएको थियो ।
त्यसयता ती जिल्लाहरुमा नियमित व्यावसायिक उडान सञ्चालनमा रहेको छ । यस्तै निगमले आन्तरिक उडानमा पनि गन्तव्य विस्तार गरेको छ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको निगमले काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाइरहेको प्रवक्ता खड्काले बताए ।
निगमले काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ ।
निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीसँग अन्तरदेशीय टिकट बिक्री गरिरहेको छ । जसले गर्दा निगमको सिधा उडान नहुने गन्तव्यमा निगमकै टिकटबाट यात्रा गर्न गर्न पाइन्छ ।
निगमले युरोपका विभिन्न सहर, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायलका गन्तव्यमा उडान गर्ने २१ वायुसेवा कम्पनीसँग र २४ वायुसेवा कम्पनीहरुसँग सम्झौता गरेको छ । रासस