काठमाडौं । प्राथमिक पुँजी पर्याप्तता अनुपात (कोर क्यापिटल एडुकेसी रेसियो) कायम गर्न नसक्दा गत वर्ष लगानीकर्तालाई लाभांश दिन नसकेको एनआईसी एसिया बैंकले यस वर्ष तेस्रो त्रैमासमै नियामकीय व्यवस्था पूरा गरेको छ ।
कोर क्यापिटल एडुकेसी ८.५ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था छ । गत वर्ष एनआईसी एसियाको कोर क्यापिटल एडुकेसी नपुगेकाले सेयरधनीलाई दिने भनेको १५ प्रतिशत प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले रोकेको थियो । त्यही भएर एनआईसी एसिया व्यवस्थापनले चालू वर्षको तेस्रो त्रैमासमै कोर क्यापिटल एडुकेसी रेसियो ८.५४ प्रतिशत पुर्याएको हो ।
गत वर्षको लाभांश राष्ट्र बैंकले रोकेपछि बजारमा यस वर्ष पनि एनआईसीले लगानीकर्तालाई प्रतिफल दिन नसक्ने हल्ला गरिएको थियो ।
तर, कोर क्यापिटल एडुकेसी रेसियो नियामकीय व्यवस्थाअनुरूप पुर्याए प्रतिफलमा रोक नलगाउने राष्ट्र बैंकले स्पष्ट पारिसकेको छ । त्यसो हुँदा यस आर्थिक वर्षमा एनआईसीले गत वर्षको १५ प्रतिशत र यस वर्षको कमाइबाट २० प्रतिशत गरी न्यूनतम ३५ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता राख्छ ।
केन्द्रीय बैंक स्रोतका अनुसार २०७८ असारमा ‘टायर वान क्यापिटल’ १८ अर्ब ५१ करोड रुपैयाँ थियो । त्यो बेला ‘टायर टु क्यापिटल’ १२ अर्ब ६५ लाख र कुल क्यापिटल ३० अर्ब ५७ करोड रुपैयाँ थियो । त्यस बेला टायर वान एडुकेसी रेसियो ७.५१ प्रतिशत थियो ।
जबकि त्यो ८.५ प्रतिशत हुनुपर्ने नियामकीय व्यवस्था छ । त्यति बेला सीएआर १२.४१ प्रतिशत थियो । जसलाई नियामकीय रुपमा राम्रो मानिन्छ ।
तर, २०७८ चैत टायर वान २१ अर्ब ६७ करोड ६० लाख, टायर टु क्यापिटल ११ अर्ब ६१ करोड ६० लाख पुगेको छ । कुल क्यापिटल ३३ अर्ब २९ करोड २० लाख रुपैयाँ पुगेको छ । एनआईसी एसियाले केन्द्रीय बैंकलाई बुझाएको विवरणअनुसार टायर वान एडुकेसी रेसियो ८.५४ प्रतिशत पुगेको देखिएको हो । सीएआर १३.११ प्रतिशत छ ।
एनआईसी एसिया व्यवस्थापनले असार मसान्तसम्म टायर वान एडुकेसी रेसियोलाई ९ प्रतिशतमा पुर्याउने रणनीति बनाएको छ ।
गतवर्ष यही प्रावधानका कारण प्रतिफलबाट लगानीकर्ता वञ्चित भएपछि एनआईसीको व्यवस्थापन यस विषयमा गम्भीर भएको थियो ।