काठमाडौं । पछिल्लो एक दशकलाई हेरौं, प्रविधिले संसार परिवर्तन गरिदिएको छ । कुनै बेला पत्रमित्रता गर्ने, चिठी पठाउने हामी (मेरो पुस्ता) अहिले ‘च्याट’ गर्छौं, फोनमा कुराकानी गर्छौं । उहिले स्कुल पढ्दा सरले ग्लोब घुमाउँदै विश्व मानचित्रबारे जानकारी दिनुहुन्थ्यो ।
सरले औपचारिक रुपमा दिएको यस्तो शिक्षा केवल ‘जानकारी’ मा सीमित हुन्थ्यो । तर, समय फेरिएको छ । सूचना–प्रविधिले शिक्षाको सिकाइलाई पनि परिवर्तन गरिदिएको छ । अहिले त विद्यार्थी स्वयंले एक क्लिक गरेकै भरमा घर बसेरै विश्व घुम्छ ।
अझ यसरी भनौं, अहिले तपाईं हामीले खल्तीमा विश्व बोकेर हिँडिरहेको समय हो ।कसरी सम्भव भयो यो सबै ? उत्तर सामान्य छ– आईटी अर्थात् सूचना–प्रविधिले ।
जब आईटीको कुरा आउँछ ‘सिलिकन भ्याली’ नाम पनि सँगसँगै आउँछ । विश्वका थुप्रै मुलुकका आईटी इन्जिनियरहरुको सपना हुन्छ, त्यहाँ काम गर्ने । र, त बर्सेनि एसियालगायत अन्य मुलुकबाट आईटी इन्जिनियरहरु सिलिकन भ्याली पुग्छन् । यसलाई तल आउने इन्डेक्सले पनि प्रमाणित गर्छ ।
कहाँ छ सिलिकन भ्याली ?
दक्षिणी सन फ्रान्सिस्को खाडी क्षेत्रमा अवस्थित सिलिकन भ्याली क्यालिफोर्नियाको टेक्नोलोजी फोकस्ड इन्स्टिच्युसनहरुको केन्द्र पनि हो । जुन पालो अल्टोको स्ट्यानफोर्ड युनिभर्सिटीनजिकै छ ।
भ्यालीका भौगोलिक सीमा अलग–अलग छन् । यसअघि यस क्षेत्रको पहिचान सान्ता क्लारा काउन्टीसँगसँगै सानो र आसपासका क्षेत्रको रुपमा गरिएको थियो । यद्यपि सन् २००९ पछि सिलिकन भ्याली इन्डेक्सले सबै सेन मेटो काउन्टीलाई समावेश गर्यो । भ्यालीअन्तर्गत सान्ता क्लारा काउन्टी, सान माटेओ काउन्टी, अलामेडा काउन्टी र सान्ता क्रुज काउन्टीका सबै सहर पर्छन् ।
सेन जोस सिलिकन भ्यालीको सबभन्दा ठूलो सहर हो भने क्यालिफोर्निया तेस्रो ठूलो । यस्तै अमेरिकाको दसौं ठूलो सहर । भ्यालीका प्रमुख सहरमध्ये सान्ता क्लारा, रेडवुड सिटी, माउन्टेन भ्यू, पालो अल्टो, मेनलो पार्कलगायत छन् । ब्रुकिंग्स इन्स्टिच्युसनका अनुसार सेन जोसका महानगरपालिका क्षेत्रमा प्रतिव्यक्ति जीडीपी ज्युरिक, स्विट्जरल्यान्ड, ओस्लोपछि तेस्रो अधिक छ ।
सिलिकन भ्याली थुप्रै स्टार्टअप र वैश्विक क्षेत्रीय कम्पनीहरुको घर हो । यसमा गुगल, फेसबुक र एप्पलजस्ता विश्वविख्यात कम्पनी सामेल छन् । यसबाहेक त्यहाँ स्थापना भएका कम्पनीहरुमा एडब, एडभान्स माइक्रो डिभाइसेस, अल्फाबेट, एप्पल इंक, ई–बे, एचपी, इन्टेल, नेटफ्लिक्स, ट्विटर, आदि छन् ।
‘सिलिकन’ शब्द मूल रुपमा सिलिकन आधारित एमओएस ट्रान्जिस्टर र एकीकृत सर्किट चिप्समा विशेषज्ञ क्षेत्रमा ठूलो संख्यामा आविष्कार र निर्मातालाई सम्बोधन गर्छ ।
विश्वकै सर्वाधिक ठूलो टेक्नोलोजी कर्पोरेसनको होम मानिने भ्यालीमा फर्चुन १००० मा ३० भन्दा बढी व्यवसायका केन्द्रीय कार्यालय र हजारौं स्टार्टअप कम्पनी छन् । यसलाई विस्तृतमा अझ यसरी बुझौं, अमेरिकाको सबै व्यापार पुँजी लगानीको एक तिहाइ हिस्सा सिलिकन भ्यालीको रहन्छ । यसले उच्च प्रविधि आविष्कारका लागि प्रमुख केन्द्र र स्टार्टअप पारिस्थितिक तन्त्र बन्न सहयोग गरेको छ ।
सिलिकन आधारित एकीकृत सर्किट, माइक्रो प्रोसेसर र माइक्रो कम्प्युटरजस्ता अन्य प्रविधिबीच विकसित भएका थिए । सन् २०१३ सम्म यस क्षेत्रमा झन्डै १ लाख सूचना प्रविधि श्रमिकको एक चौथाइ हिस्सा कार्यरत थियो ।
किन महत्वपूर्ण छ यो ?
इन्टरनेट, स्मार्टफोनदेखि विश्वका विभिन्न ग्याजेटले हाम्रो दैनिकी नै परिवर्तन गरिदिएका छन् । सहज बनाइदिएका छन् । यसरी दैनिकीलाई सहज बनाउने काम थुप्रै स्टार्टअप्सले गरेका छन् । र, यीमध्ये प्रमुख स्टार्टअप्स सिलिकन भ्यालीमा छन् । विश्वका टेक ज्वाइन्ट कम्पनी गुगल, फेसबुक, इन्टेल, ओरेकोल, एप्पलका केन्द्रीय कार्यालय सिलिकन भ्यालीमै छन् ।
यति मात्रै होइन, नवीन आईटी सेक्टरसँग जोडिएका झन्डै ३० हजारभन्दा बढी साना कम्पनी भ्यालीमा छन् । अब लाग्न सक्छ, आखिर सिलिकन भ्यालीमै किन विश्वका बहुचर्चित स्टार्टअप्स छन् ?
सिलिकन भ्यालीसँग एउटा किम्वदन्तीजस्तै जोडिन्छ । त्यो के भने, सिलिकन भ्यालीमा जति पनि स्टार्टअप छन्, उल्लेख्य रुपमा सफल छन् । यसरी सिलिकनमै स्टार्टअप सफल हुनुमा त्यहाँको इकोसिस्टम मानिन्छ । यसले त्यहाँ स्थापित स्टार्टअपलाई हुर्कन (ग्रो) सहयोग पुर्याउँछ ।
सिलिकन भ्यालीमा इन्टेलेक्चुअल बिलिनियर्स (बौद्धिक अर्बपति) बस्छन् । जब कुनै स्टार्टअप उनीहरुलाई मन पर्छ, त्यसमा लगानी गर्छन् । यसरी गरिने लगानीले स्टार्टअपलाई पूर्णरुपमा फल्न–फुल्न सहयोग गर्छ ।
यसबाहेक पनि स्टार्टअपलाई ग्रो हुन चाहिने थुप्रै सुविधा सिलिकन भ्यालीमा उपलब्ध छन् । यही कारण भ्यालीमा सुरु भएका स्टार्टअपले छिटो बजार पाउँछन् र हेर्दाहेर्दा कम्पनी लोकप्रिय बन्छन्, सफलता प्राप्त गर्छन् ।सिलिकन भ्यालीको अर्को विशेषता भनेको त्यहाँ प्राप्त हुने सस्तो र द्रुत गतिको इन्टरनेट सेवा पनि हो ।
थिंक ट्यांक ज्वाइन्ट भेन्चर्स–२०२२ को रिपोर्टअनुसार १ हजार ८ सय ५४ स्क्वायर माइलमा फैलिएको सिलिकन भ्यालीको जनसंख्या ३७ लाख छ । जसले वार्षिक १६ लाख ३० हजार रोजगारी सिर्जना गर्छ । यहाँको वार्षिक औसत आम्दानी १ लाख ७० हजार डलरआसपास छ ।
यसबाहेक त्यहाँका कर्मचारीले विभिन्न खालका सेवा–सुविधा प्राप्त गर्छन् । यसकारण पनि विश्वका उत्कृष्ट प्रतिभाहरुको रोजाइमा सिलिकन भ्याली पर्छ । र, त भ्यालीमा विश्वकै ठूला स्टार्टअप सुरु हुन्छन् ।
कहाँबाट कति प्रतिनिधित्व
इन्डेक्सअनुसार (२०१५ देखि २०१९ सम्म) सिलिकनमा सर्वाधिक बढी दक्ष आईटी इन्जिनियर भारत र चीनबाट छन् । भ्यालीमा भारतबाट २५ र चीनबाट १४ प्रतिशत गरी कुल ३९ प्रतिशत आईटी वर्कर्स इन्भल्ब छन् । जबकि अमेरिकाबाट जम्मा ३१ प्रतिशत छन् । र, ६९ प्रतिशत प्रतिभा विदेश (अमेरिकाबाहिर) मा जन्मिएकाहरु छन् ।
सन् १८७० मा विदेशमा जन्मिनेहरु ३६.९, १९७० मा ८.७ प्रतिशत थिए । तर, २०१९ मा यसले रेकर्ड राख्यो । सो वर्ष सर्वाधिक ३९ प्रतिशत पुग्यो ।
कर्मचारी हिस्सा
सिलिकन भ्याली बिजेनस जर्नलको रिपोर्टअनुसार भ्यालीमा काला जातिका अमेरिकन÷अफ्रिकन, ल्याटिनो, एसियन कर्मचारी कार्यरत छन् । यिनीहरुले विभिन्न भूमिकामा रोल खेलिरहेका छन् । सबैभन्दा बढी टेक्निकल रोलमा एसियन छन् । उनीहरुको भूमिका सिलिकन भ्यालीमा ४६ प्रतिशत छ । जबकि सिलिकन भ्याली वर्कफोर्सको कुल योगदान ४० प्रतिशत मात्रै छ ।
महिलाको लोभलाग्दो भूमिका
पुरुष वर्चश्व सिलिकन भ्यालीमा पनि देखिन्छ । सन् २००६ मा क्यालिफोर्निया विश्वविद्यालयले राज्यभित्र महिलाद्वारा व्यावसायिक नेतृत्वको विश्लेषण गर्ने एउटा रिपोर्ट तयार पारेको थियो ।
रिपोर्टअनुसार क्यालिफोर्नियाका प्रमुख सार्वजनिक कम्पनीका ४०० केन्द्रीय कार्यालयमध्ये १०३ कार्यालय सान्ता क्लारा काउन्टीमा छन् । त्यहाँ सिलिकन भ्यालीका ८.८ प्रतिशत महिला सीईओ थिए । जबकि सन् फ्रान्सिस्को काउन्टीमा १९.२ र मारिन काउन्टीमा १८.५ प्रतिशत थियो ।
महिलाको भूमिका टेक्निकल रोलमा ११ प्रतिशत, लिडरसिपमा २६, समग्र टेक्नोलोजीमा ३० र सिलिकन भ्याली वर्कफोर्समा ४४ प्रतिशत छ । जबकि पुरुषको टेक्निकलमा ८९, लिडरसिप पोजिसनमा ७४, समग्र टेकमा ७० र भ्याली फोर्समा ५६ प्रतिशत कार्यरत छन् ।
रोजगारी
आईटी हब सिलिकन भ्यालीमा अधिकांश वर्षमा रोजगारी अर्थात् अवसर वृद्धि भइरहेको देखिन्छ । तर, २०१९ को विश्वव्यापी महामारी कोभिडले केही असर गर्यो । २०१९ मा झन्डै १२ लाख रोजगारी दिएकामा ०२० मा भने स्वात्तै घट्यो । यसमा कोभिड प्रमुख कारण हो । १२ लाखबाट झरेर ढाइ लाखसम्म पुग्यो ।
तर, २०२१ मा इन्डेक्स पुनः ५ प्रतिशले बढेर १७ लाख हाराहारी रोजगारी सिर्जना भयो । २००२, २००३, २००४, २००९, २०१० मा क्रमशः ८, ५, १, ६ र १ प्रतिशले रोजगारी घटेको थियो ।