काठमाडौं । झट्ट हेर्दा कुनै पाँच तारे होटल जस्तो । भवनबाहिर खेल्न धेरै खुला ठाउँ छ । खेलकुदका मैदानहरु छन । फुटबल, बास्केटबल, लनटेनिसका मैदान र कोर्टमात्रै होइन पौडीका लागि स्विमिङ पुल पनि छ ।
तर,यो कुनै होटल तथा रिसोर्ट हैन,यो त विद्यार्थीहरुको अध्ययनका लागि तयार पारिएको फिस्टेल एकेडेमी हो । पोखरा १७ विरौटामा निर्माण भएको यो संरचना देख्दा जोकोहीले पनि जिब्रो टोक्ने गरेका छन् । लोभलाग्दो भौतिक संरचना तयार पारी अध्ययन सुरु गर्ने व्यक्ति हुनु चुनु रानाभाट ।
लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहदै आएका रानाभाटले गण्डकी प्रदेशकै सबैभन्दा उत्कृष्ठ भौतिक संरचना भएको विद्यालयको रुपमा निर्माण गरेको हुन् । हुन त सो एकेडेमी २०५१ सालबाटै सञ्चालनमा आएको थियो । तर, गत वर्ष (२०७८ साल) देखि भने नयाँ ठाउँमा नयाँ संरचनाका साथ विद्यालयलाई विस्तार गरेका हुन् ।
१ अर्ब रुपैयाँ लगानी रहेको सो फिस्टेल एकेडेमी ४३ रोपनी क्षेत्रफलमा फैलिएको अध्यक्ष रानाभाटले जानकारी दिए । ‘१ अर्ब रुपैयाँ लगानी विद्यालयको भौतिक संरचना मात्र गरिएको हो,’ अध्यक्ष रानाभाटले भने, ‘जग्गा १५/२० वर्ष अघिनै खरिद गरिएको थियो ।’
आफ्ना बालबच्चाहरुलाई गुणस्तरीय शिक्षा दिनकै लागि राजधानी काठमाडौंसहित विभिन्न सहरमा जानुपर्ने बाध्यतालाई अन्त्य गरि पोखरामै सुविधासम्पन्न विद्यालयमा अध्ययन गराउने उद्धेश्यका साथ विद्यालय सञ्चालनमा ल्याएको उनको भनाई छ ।
विद्यालयमा विदेशको मापदण्डअनुसार एउटा कक्षा कोठामा ३० जनामात्र विद्यार्थी राखेर अध्यापन गराइएको, सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त रहेको, विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको, अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधासम्पन्न हलसमेत रहेको उक्त अवसरमा जानकारी दिइएको छ ।
रानाभाट भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको बताउँछन । उनले भारतको दिल्ली पब्लिक स्कुलका अनुभवी डा. त्रिदेव उपाध्यायलाई प्रिन्सिपलको जिम्मेवारी सुम्पिएका छन ।
प्राइमेरी र लोअर सेकेन्डरीका लागि पनि दक्ष र अनुभव शिक्षक तथा कोअर्डिनेटर काठमाडौं र भारतबाटै झिकाएका छन । विद्यार्थी पढ्ने कक्षा कोठा फराकिला, उज्याला र सुविधासम्पन्न छन । प्रयोगशाला उपकरणले सुसज्जित छन । विद्यालयमा एक साथ ७०० जना विद्यार्थीहरुले अध्ययन गर्न सक्ने छन् ।
अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्य लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुलका साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेतको व्यवस्था छ ।फिस्टेल एकेडेमी विगतदेखि नै नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयका रुपमा चिनिदै आएको छ ।
विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था छ । हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भर्र्याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ ।
रानाभाट लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । पारिवारीक बिजनेशको रुपमा अगाडी बढाउदै आएको फिस्टेल एकेडेमी उनका श्रीमती अन्जु बस्नेत रानाभाट,छोरी डा. एरिका रानाभाट र छोरा एलिस रानाभाटले सम्हाल्दै आएका छन् ।
पोखरामा एडुटुरिजमको पनि विकासमा सहयोग पुग्ने अपेक्षा रानाभाटले राखेका छन । ‘यो संस्था मेरो होइन, पोखरेलीको हो,’ रानाभाटले भने ।
कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालय भौतिक संरचनाको हिसावले गण्डकी प्रदेशकै सबैभन्दा ठूलो हो । सो विद्यालयमा अध्ययनका लागि न्यूनतम शुल्क २० हजारसम्म तिर्नुपर्छ ।