काठमाडौं । काठमाडौं उपत्यकाका १ लाख ७५ हजार धाराबाट मेलम्चीको पानी वितरण हुन थालेको छ । गत वर्ष मेलम्चीको पानी काठमाडौं आउँदा १ लाख ६० हजार धाराबाट मात्रै पानी वितरण भएको थियो भने यस वर्ष १५ हजार धारा बढेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यका अनुसार गत वर्ष ९ वटा पोखरीबाट पानी पठाएकोमा यस वर्ष थप १ पोखरीबाट पानी पठाएपछि १५ हजार बढी धारामा पानी पुग्ने भएको हो ।
यही वैशाख ११ आइतबारबाट काठमाडौंमा दोस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । २०७७ चैत १५ गते पहिलोपटक काठमाडौंमा मेलम्चीको पानी आइपुगेको थियो । तर, २०७८ जेठ ३१ गते सुरुङ परीक्षणको लागि बन्द गरिएको थियो ।
बन्द गरेकै समयमा अर्थात् असार १ गते राती मेलम्ची खोलामा गएको बाढीले खानेपानी आयोजनामा क्षति पुगेपछि करिब एक वर्षपछि मात्रै काठमाडौंमा पानी आएको हो ।
अहिले वितरण भएको पानी अस्थायी रुपमा पुनर्निर्माण गरेर ल्याइएको हो । वर्षा लागेपछि बन्द हुने सम्भावना छ । केयूकेएलले वितरण गर्दै आएको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी कुल २७ करोड लिटर पानी काठमाडौंमा वितरण भएको केयूकेएलले जनाएको छ । २७ करोड लिटर पानी १० वटा पोखरीबाट वितरण हुन्छ ।
३ वटा ट्यांकीबाट दैनिक पानी वितरण
अनामनगर ओभरहेड ट्यांकीबाट अनामनगर, घट्टेकुलो, बिजुलीबजार र माइतीघरमा दैनिक पानी वितरण भएको छ । त्यस्तै टिगनीको ट्यांकीबाट सिन्टिटार, बोडे, मिलरोड, भुलाखेल, सुन्दरनगर र कोरियन अस्पताल क्षेत्रमा पनि दैनिक पानी पुगेको छ ।
केयूकेएलका अनुसार भक्तपुर–कटुन्जे ट्याङकीबाट सिर्जनानगर, चुनदेवी, सल्लाघारी सूर्यविनायक, इटाछे, भार्भाचो क्वाछे, कालीका मन्दिरक्षेत्र, मंगलाछे, वंशगापाल, गहिटी बजार, सूर्यविनायक र गपली चोकमा पनि दैनिक पानी पुग्नेछ ।
६ वटा ट्यांकबाट १ दिन बिराएर पानी वितरण हुने
मीनभवन ट्यांकबाट पानी वितरण हुने मध्यबानेश्वर, मिलनचोक, थापागाउँ, बानेश्वर हाइट, सुविधानगर, सहयोगी नगर, ह्याम्स अस्पतालका क्षेत्रहरु, शान्तिनगर, गैह्रीगाउँ, अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र, शंखमूल, कुरिया गाउँ, श्रीनगर, प्रयागमार्ग र नापीहाइट क्षेत्रमा १ दिन बिराएर पानी वितरण हुने बताइएको छ ।
अनामनगर ओभरहेड ट्यांकीबाट दैनिक र १ दिन बिराएर पानी वितरण हुने बताइएको छ । जसमध्ये लगन, दलासी, नायपाचों, न्युरोड र त्रिपुरेश्वरमा भने १ दिन बिराएर मात्रै पानी पुग्नेछ ।
त्यस्तै खुमलटार ट्यांकबाट धोबीघाट, अल्का हस्पिटल, चापागाउँ दोबाटो, लगनखेल, प्रयाग पोखरी, कुपण्डोल, झम्सीखेल, सरस्वती मन्दिरचोक, महालक्ष्मीस्थान, सातदोबाटो, मानभवनमा पनि १ दिन बिराएर मात्रै पानी पुग्नेछ ।
त्यसबाहेक महाराजगन्ज पानीपोखरीबाट सामाखुसी, दक्षिणकाली मन्दिर, रानीदेवी स्कुल, लाजिम्पाट, गौरीघाट, नानीगन्ज, महाराजगंज लोकल पम्प बजार एरिया र बालुवाटार क्षेत्रमा पनि दिन बिराएरै पानी वितरण हुने केयूकेएलले जनाएको छ ।
यस्तै बाँसबारी पानीपोखरीबाट पानी वितरण हुने नरदेवी, रक्तकाली, क्षेत्रपाटी गल्कोपाखा, बसुन्धरा, पिपलबोट, कालधारा, धोबीचौर, महाराजगन्ज बजार, भगवानबहाल, पुष्पान्जली मार्ग, मनोहरा लाइन र कालधारा, कपुरधारा, गोंगबु प्लटिङ, शीतलनिवास बालुवाटार क्षेत्रमा पनि दिन बिराएरै पानी वितरण हुनेछ ।
साथै कीर्तिपुर ट्यांकीबाट देवढोका, क्वांचो, चिलान्चो, जांखा, भाजंगाल, गाम्चा र चोभारमा पनि १ दिन बिराएर मात्रै पानी वितरण हुनेछ ।
बालाजु र महांकालचौरबाट २ दिन बिराएर पानी वितरण
बालाजु पानीपोखरीबाट बालाजु, नयाँबजार, वनस्थली, स्वयम्भु, डल्लु, छाउनी, बाफल र महांकालचौर पानीपोखरीबाट देवकोटा सडक, बत्तिसपुतली, जय वागेश्वरी, चाबहिल, भोटाहिटी, कमलाक्षी, बानेश्वर, सिनामंगल, मिलनचोक, सिफल, मालीगाउँ विशालनगर, नक्साल, मैतिदेवी, घट्टेकुलो, डिल्लीबजार, चारखाल, कमलादी, बागबजार, इनवहाल, ज्याँठा, संगमचोक र न्युरोड त्रिपुरेश्वरमा भने २ दिन बिराएर मात्रै पानी पुग्ने केयूकेएलले जनाएको छ ।
केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार ११ गतेबाट वितरण सुरु भएको पानी योजनाअनुसार १० वटै पोखरीबाट वितरण भइसकेको छ । साथै वितरणमा कुनै समस्या नआएको पनि उनको भनाइ छ ।
‘सबै ठाउँमा एउटै खालको नेटवर्क छैन, त्यसैले सामान्य रुपमा छिमेकीकोमा बढी गयो, मेरोमा कम भयो भन्ने खालका गुनासा आएका छन् । तर, प्राविधिक रुपमा कुनै समस्या देखिएको छैन’, उनले भने, ‘अहिले सार्वजनिक भएको तालिकाअनुसार सबै ठाउँमा निरन्तर पानी पुग्छ ।’