काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ दोहोरो अंकले घटेको छ ।
सोमबार ४८.७३ अंकले घटेर २३ सय ७ बिन्दुमा झरेको छ । अन्तिम कारोबार दिन १ अर्ब ४७ करोड कारोबार भएकोमा यस दिन १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
यस दिन नेप्से २३५८ बिन्दुमा खुलेर निरन्तर ओरालो झर्दै २३ सय ७ बिन्दुमा अडिएको छ । लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर मूल्यसमेत निकै सस्तो भइसकेको छ । मूल्य तल्लो बिन्दुमा आए पनि अपेक्षाअनुसार खरिदकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकमा तरलता अभाव सहज नभएकाले सेयर बजारमा आकर्षण बढ्न नसकेको अनुमान गरिएको छ ।
यस दिन ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ । यस्तै १ कम्पनीको मूल्य स्थिर छ ।
सर्वाधिक सेयर मूल्य उचालिएका कम्पनी
उच्च अंकले घटेको बजारमा नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक अंकले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् ११४ रुपैयाँले बढेर प्रतिकित्ता १२ सय ५६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, राधी विद्युत् कम्पनीको सेयरमूल्य ४ दशमलव १७ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य ३२ रुपैयाँले बढेर प्रतिकित्ता सेयरमूल्य १६७२ रुपैयाँ पुगेको छ । त्यस्तै सामुदायिक लघुवित्त र सबैको लघुवित्तको सेयर मूल्य सामान्य दरले बढेको छ ।
सेयर मूल्यमा उच्च गिरावट आएका कम्पनी
यस दिन कारोबारमा आएका २२८ कम्पनीमध्ये नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक करिब १० प्रतिशतले घटेको छ । साथै, युनियन हाइड्रोपावरको मूल्य ३ दशमलव ८३ प्रतिशत, महुली लघुवित्तको मूल्य ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।
सर्वाधिक सेयर खरिद बिक्री भएका कम्पनी
यस दिन आईजीआई इन्स्योरेन्सको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ५ करोड २५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ५ करोड ३ लाख र एनसीसी बैंकको ४ करोड ९७ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।