काठमाडौं । बिमा कम्पनीले पुँजी वृद्धि योजना (क्यापिटल प्लान) बिमा समितिमा बुझाएका छन् । सबै जीवन, निर्जीवन बिमा कम्पनीले क्यापिटल प्लान समितिमा पेस गरिसकेका छन् ।
३९ बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको चुक्ता पुँजी समितिले तोकेको सीमाअनुसार छ । क्यापिटल प्लान बुझाउने अधिकांश बिमा कम्पनीले झारा टार्ने मेलो गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘क्यापिटल प्लान बुझाउने अधिकांश कम्पनीले एक पेजको पुँजी वृद्धि योजनासहितको योजना समितिमा पेस गरेका छन् । उनले भने, ‘कतिपयको पुँजी वृद्धि गर्ने क्लियर भिजन नै देखिएको छैन, त्यस्ता कम्पनीको सञ्चालकसँग छलफल गरी मर्जमा जान जोड गर्नेछौं ।’
निर्देशनको पालना गर्न मात्र क्यापिटल प्लान पेस गरेको जस्तो देखिएको पौडेलले बताए । यसअघि समितिले निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) संँग छलफल गरेको थियो ।
अब समितिले जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग वैशाख २१ गते बुधबार क्यापिटल प्लानका बारेमा थप छलफल गर्ने जनाएको छ ।
साे छलफलपश्चात् बिमा कम्पनीले बुझाएको क्यापिट प्लानका बारेमा समितिले अध्ययन गरी र कसरी पुँजी वृद्धि गर्न दिने भन्ने निर्णय गर्ने पौडेलले जानकारी गराए ।
समितिले पुँजी वृद्धि योजनामार्फत कम्पनीको संख्या घटाउन चाहिरहेको छ । बजारमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको समितिको बुझाइ छ ।
अर्कोतर्फ नेपालमा अझै पनि बिमाको बजार खाली रहेको तर कम्पनीसँग अझै पनि क्षमता कम रहेको उनको भनाइ छ । कम्पनीको पुँजीकोष जति ठूलो हुन्छ त्यसले बजारलाई विस्तार गर्न र माथि पुर्याउन सजिलो हुने पौडेलको भनाइ छ ।