काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याएको छ ।
धितोपत्र बोर्डको निर्देशनपश्चात् नेप्सेले मार्जिन कारोबारसम्बन्धी कार्यविधि २०७५ मा प्रथम संशोधन गर्दै लागू गरेको हो ।
कारोबार सुविधाअन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबार गर्न ब्रोकरकोमा सेयर धितो राखी कर्जा लिन सक्नेछन् ।
कार्यविधि लागू भएसँगै अब लगानीकर्ताले इच्छुक कुनै कम्पनीको आंशिक मूल्य मात्र तिरेर उक्त सेयर खरिद पनि गर्न सक्नेछन् । ब्रोकरहरुले भने कम्पनीको पछिल्लो १२० कारोबार दिनको औसत या अन्तिम कम बजारमूल्यको आधारमा मार्जिन राखेर सुविधा उपलब्ध गराउनेछन् ।
मार्जिन कल आएको २ दिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्नुपर्ने हुन्छ ।
मार्जिन कलको तेस्रो दिनसम्म पनि वास्तविक मार्जिन कायम गर्न नसकेको अवस्थामा ब्रोकर संस्थाले चौथो कार्य दिनमा आवश्यक पर्ने मार्जिन खाताअन्तर्गतका जुनै सेयर बिक्री गरेर रकम असुल्न सक्नेछ ।
यस्तै मार्जिन कलपछि कुनै पनि समय वास्तविक मार्जिन १५ प्रतिशतभन्दा कम हुन्छ भने पनि सेवा उपभोग गर्ने लगानीकर्ताको वास्तविक मार्जिन सीमामा राख्न मार्जिन खाताअन्तर्गतका सेयर बिक्री गर्ने अधिकार कार्यविधिले दिएको छ ।
कार्यविधिअनुसार निर्धारित मूल्यको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन लगानीकर्ताले पहिला नै भुक्तानी गर्नुपर्नेछ । जोखिम अत्यधिक हुने देखिएको अवस्थामा तोकिएको प्रतिशतभन्दा बढी मार्जिन पनि ब्रोकर कम्पनीहरुले अअसुल्न सक्नेछन् ।
कार्यविधिले सम्भार मार्जिन (मेन्टेनेन्स मार्जिन) को सीमा भने २० प्रतिशत लागू गरेको छ । जसअनुसार मार्जिन सेवा उपभोग गर्ने लगानीकर्ताले निर्धारित मार्जिनको कम्तीमा २० प्रतिशत रकम मार्जिन खातामा सधैं मेन्टेन गर्नुपर्ने हुन्छ ।
२० प्रतिशतभन्दा मूल्य घटेको अवस्थामा ब्रोकर संस्थाले सेवा उपभोग गर्ने लगानीकर्तालाई मार्जिन कम गर्नेछन् ।
यस कार्यका लागि ब्रोकर संस्थाले सेवा उपभोग गर्ने लगानीकर्ताको अनुमति लिनसमेत आवश्यक नपर्ने कार्यविधिमा उल्लेख छ ।