दार्चुला । दुधिवन, अपिफेद, सातगंगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरिरहेका छन् ।
हरेक वर्ष अपिनाम्पा संरक्षणक्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष पनि यहाँका संकलक वैशाख दोस्रो साता नै संकलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना यस्ताे कार्य गर्न नपाइने जनाएको छ ।
प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताए । अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलंगा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोस्ट खार रेञ्जपाेस्ट, सिप्टीपोस्ट, पारिबगड पोस्ट र हिकिला पोस्टबाट अनुमतिपत्र वितरण भइरहेको जनाएको छ ।
संकलन गर्न भने जेठ दोस्रो सातादेखि पाइने कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा संकलकले प्रतिव्यक्ति ५००, संरक्षण क्षेत्र बाहिरकाले २ हजार र जिल्ला बाहिरकाले परिचयपत्र लिनका लागि ३ हजार रुपैयाँ तिनुपर्ने व्यवस्था छ ।
अनुमतिबिना संकलन गरे यार्सागुम्बा जफत गरी कानुनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ ।
दार्चुलाको व्यासको अपिफेद, दूधिवन, अपिहिमालको चाइमेटला, सातगङ्गा, लोलु, रोखापु, धरमघरलगायत क्षेत्रमा यार्सागुम्बा पाइन्छ । जिल्लाबाट वार्षिक ५ देखि ७ क्विन्टलसम्म यार्सागुम्बा निकासी हुन्छ ।