काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ खुदनाफा गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले साउनदेखि चैत मसान्तसम्म सो नाफा गरेका हुन् ।
२७ वाणिज्य बैंकको चुक्ता पुँजी र सञ्चित कोष (रिजर्भ) तेस्रो त्रैमाससम्म ५ खर्ब ४९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले सो चुक्ता पुँजी र पुँजी कोषको प्रयोग गरी चैत मसान्तमा ५१ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेका हुन् ।
बैंकहरुको यो नाफा औसतमा १०.७६ प्रतिशत मात्र देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये जलविद्युत्, विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा, उत्पादकमूलक र लघुवित्त संस्थामध्येमा वाणिज्य बैंकको नाफा रकमका हिसाबले सबैभन्दा बढी देखिन्छ ।
अन्य क्षेत्रको हेर्दा वाणिज्य बैंकहरुको नाफा धेरै देखिन्छ । तर, वाणिज्य बैंकको रिजर्भ कोष र चुक्ता पुँजी हेर्दा नेप्सेमा सूचीकृत अन्य समूहको तुलनामा नाफा धेरै होइन ।
अन्य क्षेत्रको भन्दा वाणिज्य बैंकहरुको चुक्ता पुँजी र रिजर्भ कोष धेरै देखिन्छ । वाणिज्य बैंकको पुँजी ठूलो हुँदा नाफा धेरै देखिन्छ । तर, पुँजी कम भएका कम्पनीको नाफा कम देखिए पनि औसतमा उनीहरुको नाफा वाणिज्य बैंकहरुको भन्दा धेरै हुन्छ ।
औसतमा नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये कुन क्षेत्रका कम्पनीको नाफा कति छ बुझ्न जरुरी हुन्छ ।
यस अवधिमा वाणिज्य बैंकको रिजर्भ कोष र चुक्ता पुँजी गरी कुल साढे ५ खर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको रिजर्भ कोष र चुक्ता पुँजी हेर्दा उनीहरुको नाफा १० प्रतिशत मात्र हुन आउँछ । रिजर्भ र चुक्ता पुँजी सेयर सदस्यहरुको पैसा हो ।
२७ वाणिज्य बैंकको चुक्ता पुँजी र रिजर्भ
चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३ खर्ब ५६ अर्ब रहेको छ भने रिजर्भ १ खर्ब ९२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजीको आधारमा पहिलो नम्बरमा ग्लोबल आईएमई बैंक छ ।
ग्लोबल आईएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ छ । त्यस्तै, नबिल बैंकको १८ अर्ब ४९ करोड, एनएमबी बैंकको १८ अर्ब ३६ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकको १८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी छ ।
सिभिल, सेञ्चुरी कमर्सियल, एभरेस्ट, स्ट्यान्डर्ड चाटर्ड र नेपाल एसबीआई बैंकको चुक्ता पँुजी साढे ९ अर्ब रुपैयाँको हाराहारीमा छ ।
त्यस्तै, सबैभन्दा बढी रिजर्भ पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकसँग छ ।
राष्ट्रिय वाणिज्यसँग १६ अर्ब ४२ करोड रुपैयाँ रिजर्भ छ भने नेपाल बैंकसँग १७ अर्ब ५५ करोड छ । सबैभन्दा कम रिजर्भ सिभिलको १ अर्ब ५५ करोड छ भने सेञ्चुरी कमर्सियलको १ अर्ब ७९ करोड रुपैयाँ छ ।
नेपाल बैंकले १७ अर्ब ५५ करोड रुपैयाँ मूल पुँजीमा लगानी गरी कुल २ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ, जुन लगानीको ११.६० प्रतिशत मात्र नाफा हो ।
चुक्ता पुँजी र रिजर्भ कम भएका सिभिल र सेञ्चुरीले लगानीको आधारमा करिब साढे ११ प्रतिशत नाफा गरेका छन् ।
सबैभन्दा बढी चुक्ता पुँजी भएको ग्लोबल आईएमईको नाफा ९ प्रतिशत छ । ग्लोबल आईएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड र रिजर्भ ९ अर्ब ८४ करोड रुपैयाँ छ ।
कुल ३३ अर्ब ६४ करोड पुँजी लगानी गरी बैंकले चैत मसान्तमा ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको हो ।
हेरौं औसतमा कुन बैंकको नाफा कति ?