काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिडको असर अहिले पनि कायमै छ । तेस्रो लहरको असर सकिएर अवस्था सामान्य भए पनि कोभिडको डर मरिसकेको छैन ।
कोभिड महामारीबाट बच्न सरकारले २०७७ चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गर्यो । जसले गर्दा पर्यटन क्षेत्र चपेटमा पर्यो । शून्य गतिविधिको यो क्रम झन्डै २ वर्ष चल्यो ।
कोभिडद्वारा सबभन्दा बढी प्रभावित होटल व्यवसाय अझै तंग्रिन सकेको छैन । यस अवधिमा होटलमा ताला लाग्यो । अहिले पनि कतिपय होटलको ताला खुलेको छैन ।
प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पनि कोभिडको पर्यो । राम्रै चलिरहेको होटल व्यवसाय चौपट बनायो । लामो समयसम्म व्यवसाय बन्द भएपछि त्यहाँका व्यवसायीहरुले वैकल्पिक व्यवसायको सोच बनाए । उनीहरुलाई लाग्यो, होटल र रेष्टुराँमा मात्र भर पर्दा समस्या हुने रहेछ ।
लगानीको समेत समस्या भइरहेको बेला एक जनाले मात्र ठूलो लगानी गर्न नसक्ने र जोखिम पनि धेरै रहेकाले केही साथीहरु मिलेर नयाँ काम गर्ने निधोमा पुगेको जंगल सफारी होटलका सञ्चालक सुमन घिमिरे बताउँछन् ।
‘एक जना पनि पर्यटकहरु नआउँदा हाम्रो व्यवसायमा कस्तो असर पर्दो रहेछ भन्ने तीतो अनुभव पहिलोपटक लियौं’, व्यवसायी घिमिरेले क्यापिटल नेपालसँग भने, यतिकै बस्दा खानसमेत समस्या हुने देखिएपछि विकल्पमा सुपरमार्केट खोल्ने निधोमा पुगेका हौं ।’
सुरुमा उनीसहित ३ जना साथीहरु मिल्ने र ५/५ लाख रुपैयाँ लगानी गरेर सानो मिनिमार्ट खोल्ने तयारी गरेका थिए । तर, थपिँदै जादा १८ जनाको संख्या पुगेपछि आफूहरु वृहत् परियोजनामा पुगेको उनी सुनाउँछन् ।
जस्तोसुकै संकट आए पनि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको व्यवसाय सञ्चालन हुने देखेपछि सौराहा आसपासमा सुविधासम्पन्न मार्ट बनाउने योजना बनाए । योजना बनाउँदै जादा बकुलहरमा भव्य सुपरमार्केट बनेको उनको भनाइ छ ।
सुरुमा १८ जना साथीहरु मिलेर १/१ करोड रुपैयाँ लगानी गर्ने र १८ करोडमा सक्ने गरी १ वर्षअघि अर्थात् २०७८ वैशाख २ गते शिलन्यास गरेका थिए । सौराहा भेन्चर प्रालिद्वारा सञ्चालन हुने सेभ सुपरमार्केटको यही वैशाख २० गते औपचारिक उद्घाटन हुँदैछ ।
’कोभिडले होटल बन्द भएपछि निराशबीच देखेको सपना लगभग पूरा भएको छ‘, सञ्चालकमध्येका एक घिमिरेले भने, ‘नयाँ व्यवसाय भएकोले केही कठिन भए पनि अनुभव लिँदै व्यवसाय विस्तारमा लाग्ने छौं ।’
सुपरमार्केटभित्र सिनेमा हल, सपिङ सेन्टर आदि हुनेछ । सुरुमा सपिङ सेन्टर मात्र सञ्चालन हुनेछ भने त्यसपछि दुइटा थियटरसहित मल्टिप्लेक्स हल सञ्चालन हुनेछ ।
सपिङ सेन्टर बनेको ठाउँमा यसअघि ज्योति फिल्म हल थियो । नवनिर्मित सुपरमार्केट ३ तलाको हुनेछ । यसमा पहिलो तल्लामा ग्रोसरी, दोस्रो तल्लामा किचेनवेयर तथा इलेक्ट्रिकल सामान र तेस्रो तल्लामा क्लोथिङ हुनेछ । यस्तै तेस्रो तल्लामै रेस्टुरेन्ट र सिनेमा हलसमेत हुने छ ।
सौराहामा रहेका होटल तथा रेष्टुराँहरुलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नेे दाबी घिमिरेको छ । ‘अहिले केही सामान चाहिएमा भरतपुर पुग्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा हामीले लिएका छौं’, सञ्चालक घिमिरेले भने, ‘यसबाट समय र बजेटको समेत बचत हुन्छ ।’
सुपरमार्केट सञ्चालनले व्यवसायीहरुलाई मात्र होइन, पर्यटन क्षेत्रका लागि नयाँ गन्तव्यको रुपमा पनि विस्तार भएको उनको भनाइ छ । जसका कारण सौराहामा बस्ने पर्यटकहरुको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
हाल सौराहामा ११० होटल र ६० वटा रेस्टुँरा सञ्चालनमा छन् । उनीहरुले सोही ठाउँमा गएर सपिङ गर्छन भन्ने अपेक्षा घिमिरे समूहको छ ।
सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष घिमिरे, पूर्वअध्यक्ष नारायण भट्टराई, रेस्टुरेस्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेबान) का अध्यक्ष दीपेन्द्र खतिवडा र ज्ञानेन्द्रकुमार विष्टलगायत लगानीकर्ता छन् ।
४ वटा आउटलेटको तयारी
घिमिरे समूहले सेभ सुपरमार्केटलाई बिस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजनासमेत बनाएका छन् । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
५ वटासम्म आउटलेट खोल्ने र कम्तीमा ६ देखि ७ किलोमिटरको दूरीमा रहेका बजारलाई केन्द्रित गरी मार्ट सञ्चालन गर्ने सोच राखेको व्यवसायीहरुको भनाइ छ ।
भरतपुर, पदमपुर, सौराहा र भण्डारामा आउटलेट खोल्ने र ती सबै थोरै लगानी गरेर मिनिमार्टको रुपमा विस्तार गर्दै जाने योजना बनाएको घिमिरे बताउँछन् । ‘पछि अन्य क्षेत्रमा पनि आउटलेटका रुपमा खुल्न सक्छ’, उनी भन्छन्, ‘तर, पहिलो चरणमा चितवनभित्र मात्र विस्तार हुनेछ ।’