काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीलाई पुँजी वृद्धि गर्न १ वर्ष समय पर्याप्त रहेको बताएका छन् ।
बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई निर्देशन दिँदै अध्यक्ष सिलवालले बिमा कम्पनीले १ वर्षभित्र पुँजी वृद्धि गरिसक्नुपर्नेमा जोड दिएका छन । ‘एक वर्षको समय–सीमा पर्याप्त हो, समय थपिन्छ भनेर नबस्नुहोला’, उनले भने, ‘पुँजी वृद्धि कसरी गरिसक्ने हो, तयारीमा जुट्नुस् ।’
‘पुँजी वृद्धिको समय थप हुँदैन् । समयमा वृद्धि गर्न नसक्ने कम्पनी मर्जमा जाने, समय थपिहाल्छ भन्ने आसमा बस्दा डुबिएला’, अध्यक्ष सिलवालले भने ।
हाल सञ्चालमा रहेका जीवन र निर्जीवन गरी ३९ बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको चुक्ता पुँजी समितिले तोकेको सीमाअनुसार छ ।
नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने शिखरको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ छ । अन्य ३७ बिमा कम्पनीले भने समितिको निर्देशनअनुसार पुँजी वृद्धि गर्नुपर्ने हुन्छ ।
पुँजी वृद्धिको योजना १ महिनाभित्रमै समितिमा पेस गर्नुपर्ने र १ वर्षभित्र अर्थात् २०७९ चैत मसान्तभित्रमा कार्यान्वयनमा ल्याउन समितिको निर्देशन छ ।
समितिको निर्देशनअनुसार ३७ कम्पनीले पुँजी वृद्धिको योजना योजना समितिमा पेस गरिसकेका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अधिकांशले हकप्रद सेयर, बोनस वितरण गरी पुँजीवृद्धि गर्ने योजना पेस गरेका छन् ।
समितिले पुँजीवृद्धि योजनामार्फत कम्पनीको संख्या घटाउन चाहिरहेको छ । बजारमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको समितिको बुझाइ छ ।
अर्कोतर्फ नेपालमा अझै पनि बिमाको बजार खाली रहेको तर कम्पनीसँग अझै पनि क्षमता कम रहेको उनको भनाइ छ ।
कम्पनीको पुँजीकोष जति ठूलो हुन्छ त्यसले बजारलाई विस्तार गर्न र माथि पुर्याउन सजिलो हुने पौडेलको भनाइ छ । कम्पनीहरुले बुझाएको पुँजीवृद्धि योजनामाथि समितिमा अध्ययन भइरहेकोे र त्यसपछि मात्र कसरी पुँजीवृद्धि गर्न दिने भन्ने निर्णय गर्ने पौडेलले जानकारी गराए ।
‘जीवन बिमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष र सीईओहरुसँगको छलफलमा पुँजीवृद्धि गर्न नसक्ने कम्पनीलाई मर्जका लागि जोड दिएका छौं’, उनले भने, ‘अब समितिले कम्पनीको सञ्चालकसँग छुट्टाछुट्टै छलफल गर्छौं । पुँजीवृद्धि गर्न नसक्ने कम्पनीलाई मर्ज गर्न सुझाव दिन्छौं ।’
हाल अधिकांश जीवन बिमा कम्पनीको चुक्तापुँजी २ देखि ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफको ८ अर्ब २० करोड र नेसनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी छ । नेपाल लाइफबाहेक १८ जीवन बिमा कम्पनीले चुक्तापुँजी बढाउन क्यापिटल प्लान तयार पारेका छन् ।
त्यसैगरी अधिकांश निर्जीवन बिमा कम्पनीको चुक्तापँुजी १ देखि साढे १ अर्ब रुपैयाँ छ । सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २ अर्ब २८ करोड सबैभन्दा कम नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
यसअघि निर्जीवन बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ तोकिएको थियो ।