काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कामको पुनर्संरचना, सीप विकास आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
महासंघका अध्यक्ष गोल्छा र महासंघको रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन् । शुभकामना संदेशमा अध्यक्ष गोल्छाले भने, ‘कोरोना संक्रमणपछि उद्योग व्यवसाय सञ्चालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको छ ।’
कोरोना खोप लगाउन सुरू भएपछि कोरोना संक्रमणको दरमा निकै कमी आएको र अर्थतन्त्रले पनि गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका घटनाक्रमले मुलुकको अर्थतन्त्र कठिन मोडमा पुगेको उनको बुझाछ छ ।
साथै उक्त गतिविधिबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ महासंघको ध्यानकर्षण भएको गोल्छाले बताए ।
रोजगारदाता र ट्रेड यूनियनबीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रमसम्बन्धी समस्याको समाधान गर्न महासंघले काम गर्दै आएको अध्यक्ष गोल्छाले बताए ।
त्यस्तै परिषद्का सभापति संघईले कोरोना संक्रमणबाट सिर्जित विषम परिस्थिति, कार्य–वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने चुनौती रहेको बताएका छन् । कोरोना खोपले संक्रमणदर घटेर मानवीय क्षतिमा कमी आए पनि कोरोनाका नयाँ–नयाँ भेरियन्ट फैलिने क्रम अझै रहेकाले स्वस्थ्य सुरक्षाको ख्याल गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिनुको विकल्प नरहेको संघईको भनाइ छ ।
साथै आर्थिक गतिविधिले गति लिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मुख हुन लागेको हो कि भन्ने चिन्ता बढेको भन्दै उद्योग व्यवसाय सञ्चालन र रोजगारी प्रभावित हुँदा आउने चुनौतीको सामना गर्न सबैसँग थप समझदारी र सहकार्य संघाईले आग्रह गरेका छन् ।