काठमाडौं । नेपाल उद्योग वाणिज्य माहासंघ ‘एफएनसीसीआई’ले औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका जनाएको छ ।
मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुुगेको एफएनसीसीआईले जनाएको छ।
यस्तो समस्याले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित देखिएको छ ।
चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएको एफएजसीसीआईले जनाएको छ ।
लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षणको लागि एफएजसीसीआईले आग्रह गरेको छ ।
प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटक-पटक गरेको प्रतिवद्धताको महासंघ स्मरण गराईरहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो समस्याले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का पुग्ने एफएजसीसीआईले जनाएको छ ।
एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ बिना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता प्रकट गरेको छ ।
उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने छ ।
विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित हुने महासंघले जनाएको छ ।
विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग संचालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्राय छ र त्यसरी उत्पादन गरेका वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आम जनजीवन थप कष्टकर हुने एफएजसीसीआईको विश्लेषण छ ।
अतःविद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसंग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न महासंघ गम्भीर आग्रह गर्छ ।बिजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन महासंघको जोड छ ।
यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नु पर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुपर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष गम्भीर आग्रह गर्छ ।
चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउने एफएनसीसीआईले जनाएको छ ।