काठमाडौं । पछिल्लो समय सेयरबजारमा लगानीकर्ताको संख्या बढिरहेको छ । अनलाइन कारोबार हुन थालेपछि सेयर बजारमा लगानीकर्ता बढेका हुन् ।
कुनै बेला नेपालमा प्राथमिक बजारबाट निष्कासन हुने आईपीओ भर्न लाइन बसेर आवेदन दिनुपथ्र्यो । यस्तै दोस्रो बजारमा सेयर खरिद–बिक्रीका लागि ब्रोकर कार्यालय गएर अर्डर दिनुपथ्र्यो । समयक्रमानुसार बिस्तारै अनलाइन कारोबार सुरु भयो । त्यसैको नाम हो, ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) ।
अनलाइन कारोबार हुन थालेपछि प्राथमिक बजारमा आईपीओ भर्न मेरो सेयर लिने होस् या दोस्रो बजारमा कारोबार गर्ने, टिएमएस लिनेको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।
नेप्सेका अनुसार अहिले औसतमा ९५ प्रतिशत कारोबार अनलाइनबाट हुन्छ । टिएमएस लिनेको संख्या १२ लाख ३५ हजार पुगेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
सिडिएस एन्ड क्लियरिङका अनुसार डिम्याट खाताको संख्या साढे ५१ लाख नाघेको छ । पछिल्लो तथ्यांक हेर्दा डिम्याट खाताको संख्या ५१ लाख ५० हजार ९३९ पुगेको छ । त्यसैगरी मेरो सेयर खाता खोल्नेको संख्या साढे ४२ लाख । हाल प्राथकिम बजारमा निष्कासन हुने आईपीओमा समेत २७ लाख बढीले आवेदन दिन थालेका छन् ।
पछिल्लो तीन महिनामा निष्कासन भएका हाइड्रो कम्पनी र लघुवित्तको आईपीओमा औसतमा २५ लाख आवेदन परेको तथ्यांकले देखाउँछ । मेरो सेयर चलाउनेमध्येका करिब ७५ प्रतिशतले यसबाटै आवेदन दिने गरेका छन् ।
नेपाल पुनर्बिमा कम्पनी र नेपाल इन्स्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ठूलो संख्यामा आईपीओ निष्कासन गरेसँगै डिम्याट खाता र मेरो सेयर लिने संख्या बढेको हो । यी दुई कम्पनीको आईपीओ भर्ने सबैले आईपीओ पाएका थिए ।
के हो टिएमएस ?
ट्रेड म्यानेजमेन्ट सिस्टमको सर्ट फम नै टिएमएस हो । अनलाइन सेयर कारोबार गर्न यसको प्रयोग गरिन्छ । आईपीओ बेच्नदेखि दोस्रो बजारमा सूचीकृत कम्पनीको सेयर खरिदबिक्री गर्न टिएमएस जरुरी हुन्छ ।
टिएमएस आइसकेपछि लगानीकर्ताले सहजै इन्टरनेट भएको जुन सुकै ठाँउबाट पनि सेयर कारोबार गर्न थालेका छन् । टीएमएस आउनु पहिले लगानीकर्ताले सेयर खरिद बिक्री गर्नको लागि ब्रोकर कार्यालयमै गएर (खरिद–बिक्री) अर्डर दिनुपर्ने अवस्था थियो । टीएमएसले ब्रोकर कार्यायल धाउनु पर्ने अवस्थाको अन्त्य नै गरिदिएको छ ।
कसरी लिने टीएमएस ?
टिएमएस खोल्न सबैभन्दा पहिले तपाईंले कुनै ब्रोकर कार्यालयमा गएर टिएमएस सेवा लिनुपर्ने हुन्छ । हाल नेपालमा ५० ब्रोकर कार्यालय छन् । जुन ब्रोकर कार्यालयमा गएर पनि सेवा लिन सकिन्छ ।
तर, टिएमएस लिँदा राम्रो ब्रोकर चयन गर्नुपर्छ । राम्रो भन्नाले सेवा छिटो छरितो दिने, समयमा खरिद गरेको सेयर डिम्याट खातामा पठाइदिने र बेचेको सेयरको भुक्तानी समयैमा दिने ब्रोकर नै राम्रा हुन् ।
टिएमएस सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाई (नो योर कस्टमर) फर्म अपडेट गराएपछि टिएमएसका लागि फर्म भर्नुपर्ने हुन्छ । त्यसपछि सोही दिन वा भोलिल्टसम्म इमेलमा टिएमएसको युजर नेम र पासवर्ड आउँछ ।
ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टिएमएस लगइन गर्दा नै उल्लेख हुन्छ ।यसरी युजर नेम र पासवर्ड आइसकेपछि आफूसँग भएको सेयर बिक्री गन सकिन्छ । सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सकिन्छ ।
टिएमएसबाट सेयर बिक्री गर्न अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सकिन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ । सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ ।
त्यसैगरी टिएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाई अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखी समिट गर्न सकिन्छ । तर, यसका लागि खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टिएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ ।
लगानीकर्ताले कनेक्ट आइपीएस र ग्लोबल आइएमई बैंकमा खाता भए ग्लोबलको खाताबाट पनि कोल्याट्रर राख्न सक्नुहुन्छ । कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसलाई २५ प्रतिशत रकम मान्न सकिन्छ ।
जस्तै तपाईंको कोल्याटरलमा २५ हजार रुपैयाँ छ भने तपाईंले ५० हजार रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनुहुन्छ । तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएको कति रकम खर्च भयो भन्ने देखिन्छ ।
यदि तपाईंले सेयर खरिद गर्नुभयो भने त्यसबापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ ।
यसरी खरिद गरेको सेयर कित्ता ‘टि प्लस टु’ अर्थात् कारोबार दिन छाडेर बाँकी दुई दिनभित्र तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरेबापतको पैसा ३ दिनभित्र बैंक खातामा आइसक्छ ।
टिएमएसमार्फत कारोबार गर्दा कति लाग्छ शुल्क ?
सेयरबजारमा सेयर खरिदबिक्री कार्यलाई नै सेयर कारोबार भनिन्छ । यसो गर्दा केही शुल्क तिर्नुपर्छ । लगानीकर्ताले ५० हजारसम्मको सेयर कारोबार (खरिदबिक्री) गर्दा ०.३७ प्रतिशत शुल्क बुझाउनु पर्छ ।
५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.३४, २० लाखदेखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोडमाथिको कारोबारका लागि ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ ।