काठमाडौं । बिना पूर्वसूचना विद्युत आपूर्ति अवरुद्ध हुँदा उत्पादन प्रक्रियामा अवरोध हुन गई क्षति हुन गएको बताउँदै पूर्वका उद्योगीहरुले लोडसेडिङ तालिका सार्वजनिक गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।
केही दिनदेखि पूर्वसूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति अवरोध हुँदै आएकोमा दुई दिनदेखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएकोप्रति मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गरी लोडसेडिङ तालिका माग गरेका हुन् ।
दुई वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा बढदो ब्याजदरले मरणासन्न पुर्याएको अवस्थामा बिना पूर्वसूचना विद्युतमा भएको यस प्रकारको अवरोधले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरुको भनाई छ ।
यो अवस्थामा सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु बन्द गर्न बाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्थातर्फ गम्भीर हुन सम्बन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दै आगामी मंगलबारसम्म हाम्रा मागहरुको उचित सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत अनुरोध गरेको छ ।
उद्योग सञ्चालनमा अक्सिजनको भूमिका निर्वाह गर्ने विद्युतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरी कुनै पनि तालिका सार्वजनिक नगरी पटक-पटक आपूर्ति बन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको गुनासो उद्योगीले गरेका छन् ।
यस्तो अवस्था रहेमा अति आवश्यक वस्तुलगायत सम्पूर्ण उत्पादन प्रक्रियानै ठप्प भई आपूर्ति श्रृखंला अवरोध हुनेतर्फ सम्बन्धी निकायलाई सचेत गराउँदै हाल उत्पन्न समस्याको तत्काल समाधान गर्न उद्योगीहरुले सुझाव पेश गरेका छन् ।
लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने
बिना पूर्वसूचना विद्युत लाइन अवरुद्ध हुँदा उत्पादन प्रक्रियामा अवरोध हुने, कच्चापदार्थ, मिल मेसिनरीमा क्षति तथा श्रमिकको कार्य व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएकोले विद्युत आपूर्तिको अवस्थालाई यथार्थ प्रस्तुत गरी लोडसेडिङको तालिका अविलम्ब सार्वजनिक गरी उद्योग सञ्चालन प्रकृयामा सहजीकरण गरिदिन अनुरोध गर्दछौं ।
स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने
नेपालका विद्युत उत्पादक कम्पनीहरुले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको परिमाणभन्दा बढी विद्युत उत्पादन गर्न सक्ने अवस्थामा थप विद्युत उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनलाई अधिकतम् उपयोग गरी वर्तमान संकटको समाधान गर्नुपर्ने ।
विद्युतको न्यायोचित वितरण गर्नुपर्ने
वर्तमान सुक्खा मौसममा नदिको प्रवाहमा आधारित (रन अफ दि रिभर) मा आधारित विद्युत गृहबाट जडित क्षमताभन्दा कम विद्युत उत्पादन हुनुका साथै भारतबाट समेत आशातित रुपमा विद्युत उपलब्ध नभई रहेको वर्तमान अवस्थालाई मध्यनजर गरी विद्युत आपूर्ति नियमित नहुञ्जेल विद्युत आपूर्तिको समस्या राष्ट्रिय समस्याको रुपमा लिई भएकोले औद्योगिक क्षेत्रमा मात्रै विद्युत अवरुद्ध नगरी पिक आवरमा उद्योग एवं ग्राहस्थ सबै क्षेत्रमा समानुपातिक र न्यायोचित वितरण गर्नुपर्ने ।
विद्युतको डिमान्ड शुल्क सम्बन्धमा
विद्युत आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत डिमाण्ड शुल्क लगाउनु उपयुक्त नभएकोले उक्त समयको डिमान्ड शुल्क खारेज गरिनुपर्ने ।
कूटनीतिक पहलबाट समाधान खोज्नुपर्ने
सरकारले विद्युत आपूर्ति अवरोध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर गरी कूटनीतिक पहल गरी यथाशक्य आपूर्ति नियमित गराउन पहल गर्नुपर्ने र सो संकटको समाधान खोज्नुपर्ने ।