काठमाडौं । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का मुख्य सचिवसहितको टोलीबीच छलफल भएको छ ।
महासंघका अध्यक्ष रवि सिंह, ३ उपाध्यक्ष र महासचिव रोशन दाहालसहितको टोलीले आफ्ना मागलाई लिएर छलफल गरेको हो ।
टोलीले मन्त्रालयका कर्मचारीलाई आफ्ना मागका विषयमा जानकारी गराएको छ । तर, सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको उक्त छलफलले कुनै निष्कर्ष भने निस्किएन ।
‘आज हाम्रा मागबारे जानकारी गराएर आफ्नो भनाइ राखेका छौं । मुख्य सचिवको टोलीले आगामी बुधबार (२१ गते) फेरि छलफल गर्ने जनाएको छ’, अध्यक्ष सिंहले भने ।
आइतबार सार्वजनिक बिदा परेकाले सोमबार र मंगलबार मन्त्रीपरिषद्मा व्यवसायीहरुको कामको विषयमा छलफल गर्ने र बुधबार मात्रै अर्को चरणको छलफल हुने महासंघले जनाएको छ ।
महासंघले तत्कालका लागि धर्ना कार्यक्रम भने स्थगित गरेको अध्यक्ष सिंहको भनाइ छ । यद्यपि ‘कन्ट्रक्सन होलिडे’ (निर्माणकार्य बन्द) जारी रहने उनले बताए ।
पछिल्लो समय भएको अत्याधिक मूल्यवृद्धि समायोजन, बिमाको प्रिमियम दरमा भएको मूल्यवृद्धिको निर्देशिका खारेज, राजस्व, भुक्तानीलगायत समस्या समाधान गर्नुपर्ने महासंघको माग छ ।
गत फागुनदेखि नै विभिन्न चरण र माध्यमबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गर्दै आएको महासंघले मागको सुनुवाइ नभएपछि वैशाख ८ गतेदेखि अत्यावश्यकबाहेकका निर्माण कार्य बन्द अर्थात् कन्ट्रक्सन होलिडे घोषणा गरेको छ ।