काठमाडौं । उद्घाटनको ३ हप्तापछि बल्ल चोभार सुक्खा बन्दरगाहमा कन्टेनर आउन थालेका छन् । तर, जति कन्टेनर आइरहेका छन्, ती पर्याप्त नभएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
उपत्यकाकै पहिलो सुक्खा बन्दरगाहको रुपमा चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगन्जबाट आएका ४ वटा कन्टेनर भित्र्याएर उद्घाटन गरेका थिए ।
त्यसयता चोभारमा कुनै कन्टेनर आएका थिएनन् । उद्घाटनको २० दिनपछि अर्थात् वैशाख १२ गते मात्रै सिर्सिया भन्सार कार्यालय वीरगन्जबाट एउटा कन्टेनर आइपुगेको समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहमा आवश्यक सबै तयारी पूरा भइसकेको छ । समितिले व्यवसायीलाई कन्टेनर ल्याउन आग्रह गरे पनि बन्दरगाह सञ्चालन भएको ३ हप्तासम्म पनि कुनै कन्टेनर आएका थिएनन् ।
‘सुरुसुरुमा नयाँ ठाउँ के कसो हुन्छ भन्ने डर हरेकलाई हुन्छ, व्यवसायीहरुलाई पनि त्यही भएको हुन सक्छ’, निर्देशक गजुरेलले भने ।
कन्टेनर ल्याउन किन चाहँदैनन् व्यवसायी ?
देशका विभिन्न ५ नाकाबाट भित्रिएका कन्टेनर चोभारमा ल्याउन मिल्ने व्यवस्था सरकारले गरेको छ । नाकाबाट इलेक्ट्रिक लक लगाएर काठमाडौंसम्म कन्टेनर ल्याउने व्यवस्था छ ।
तर, कन्टेनरमा बीचबाटोमा कुनै समस्या आए, तोकिएको समयमा आइनपुगे वा लकमा क्षति पुग्यो भने कन्टेनरमा भएका सामानको २०० प्रतिशत कर तिर्नुपर्ने सरकारी नियम रहेको छ । जसका कारण व्यवसायीहरुले नाकाबाट सीधै चोभारमा सामान ल्याउन नचाहेको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष राजन शर्मा बिमाको पनि समस्या रहेको बताउँछन् । सिपिङ कन्टेनर काठमाडौं ल्याउँदा कन्टेनरमा समस्या भए बिमाको सुविधा पनि नरहेको उनको भनाइ छ । त्यसबाहेक सबै सामान काठमाडौंका लागि व्यवसायीहरुले नल्याउने हुँदा पनि चोभारमा उनीहरुको आकर्षण कम भएको हुन सक्ने उनी बताउँछन् ।
‘धेरै सामान वीरगन्जतिरै बेच्ने र केही मात्रै काठमाडौं ल्याउनु पर्ने हुन सक्छ, त्यस्तो अवस्थामा काठमाडौं ल्याएर पनि फेरि सामान फर्काउन नचाहेका हुन सक्छन्’ शर्माले भने ।
डबल डकुमेन्टेसनको झन्झट
नेपाल चेम्बर अफ कमर्सले भने चीन/भारतलगायत अन्य मुलुकबाट चोभारमा कन्टेनर ल्याउन झन्झटिलो प्रक्रिया रहेको जनाएको छ । चेम्बरका वाणिज्य सभापति निरज राईका अनुसार नाकाबाट मालबाहक सवारी नेपाल भित्रिँदा भन्सार तिर्नु नपरे पनि अन्य डकुमेन्टहरु सबै बुझाउनुपर्ने हुन्छ । जसका कारण खर्च बढ्ने र प्रक्रिया पनि झन्झटिलो भएको उनको भनाइ छ ।
‘नाकाबाट प्रवेश गर्नेबित्तिकै कस्टम नगरे पनि डकुमेन्टेसन सबै गर्नुपर्ने हुन्छ । नाकाबाट नेपालको ट्याग लगाएर काठमाडौं आउँछ, फेरि काठमाडौं ल्याएर पनि गर्नुपर्दा दोहोरो हुने भयो’, वाणिज्य सभापति राई भन्छन्, ‘त्यति मात्रै होइन हामीले कुन नाकाबाट सामान ल्याउने भनेर २÷३ महिना पहिला नै एलसी खुलाउनुपर्ने हुन्छ । भर्खरै खुलेको चोभारमा एलसी नखोलेकाले पनि कन्टेनर नआएका हुन्, अब आउँछन् होला ।’
यस्तो छ चोभार भन्सार कार्यालयको भनाइ
चोभार भन्सार कार्यालयका प्रमुख धनबहादुर बरूवालले भने बाहिरबाट सीधै सामान चोभारमा ल्याउँदा कन्टेनरको लक बिग्रिने समस्या अपवादमा पर्ने बताउँछन् । ‘नेपालका लागि यो पहिलो अभ्यास हो ।
तर, भारतले पहिलादेखि नै यस्ता सुक्खा बन्दरगाह सञ्चालन गर्दै आएको छ । यद्यपि निजी क्षेत्रको समस्याका विषयमा हामी छलफल गर्न तयार छौं’, भन्सार प्रमुख बरूवालले भने ।अन्य तयारी भन्सारको तर्फबाट पूरा भएको उनको दाबी छ ।
त्यसो त इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेल पनि बन्दरगाहमा आवश्यक तयारी सरकारले गरेको बताउँछन् । केही अपुग भएको गुनासो आएमा सामाधान गर्न समिति तयारी रहेको गजुरेलको भनाइ छ ।
५ वटा कन्टेनर चोभार आउँदै
चोभार सुक्खा बन्दरगाहमा अबको २/३ दिनमा ५ वटा कन्टेनर भित्रिने भएका छन् । ‘विस्तारै कन्टेनर आउने क्रम बढेको छ, अब दैनिक आउलान्’, उनले भने । चैत २२ गते उद्घाटनको दिन ४ वटा कन्टेनर चोभारमा भित्रिएका थिए ।
त्यस यता वैशाख १२ गते एउटा बाहेक चोभारमा कुनै कन्टेरन आएका छैनन् । त्यसबाहेक ५ वटा कन्टेनर चोभार आउने जानकारी आफूलाई प्राप्त भएको भन्सार प्रमुख बरूवालको भनाइ छ ।
२०७५ माघ ३ गते तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह नेपाल इन्टरमोडल यातायात विकास समितिले गत असारमा निर्माण सम्पन्न गरेको थियो । विश्व बैंकको सहयोग र समितिको गरी कुल १ अर्ब ५४ करोड रुपैयाँ लागतमा चोभारमा सुक्खा बन्दरगाह सम्पन भएको हो ।
तर, सञ्चालनको मोडालिटी बन्न नसक्दा सञ्चालनमा ढिलाई भइ चैतमा मात्रै उद्घाटन भएको थियो । चोभारस्थित बन्दरगाह अहिले सरकारले नै सञ्चालन गरिरहेको छ । कुल २२० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा ५०० ट्रक र त्यति नै संख्यामा कन्टेनर अट्नेछन ।