काठमाडौं । तनहुँको बन्दिपुरमा निर्माणाधीन चारतारे होटलसहितको केबलकार धमाधम निर्माण भइरहेको छ । विकासकर्ता बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले होटलसहितको केबलकार पूर्वाधार बनाउन १ अर्ब रुपैयाँ बैंकबाट ऋण लिन लागेको छ ।
बन्दीपुर केबुलकारकाे १ अर्ब रुपैयाँ ऋण केयर नेपाल लिमिटेडले रेटिङ गरेको छ । जसअनुसार दीर्घकालीन ऋण ७० करोड र अल्पकालीन ३० करोड रुपैयाँ ऋण लिनका लागि कम्पनीले रेटिङ गराएको हो ।
केयर नेपालले केयर एनपी बीबी रेटिङ दिएको छ । परियोजना ढिलोमा २०८० को वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । बन्दीपुर केबलकारमा नेपाल एसबीआई बैंकको अगुवाइमा एनएमबी बैंकको ऋण लगानी रहेको छ ।
राष्ट्रिय योजना आयोगले तनहुँ केबलकार परियोजनालाई राष्ट्रिय प्राथमिकताप्राप्त सूचीमा राखेको छ । आयोजनाको समय लम्बिएपछि लागत पनि ४१ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यसअघि आयोजनाको अनुमानित लागत १ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ थियो । कोभिड महामारी र आयोजनाको स्कोपमा भएको परिवर्तनले लागत बढेको हो । आयोजनामा ६१ प्रतिशत ऋण र ३९ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ ।
जसमध्ये फेज १ का लागि ७० करोड रुपैयाँ वित्तीय व्यवस्थापन भइसकेको छ भने दोस्रो फेजका लागि लगानी व्यवस्थापन गर्न बाँकी रहेको छ । आयोजनाको यात्रु क्षमता प्रतिघण्टा १९२ बाट बढाएर ५०० पुर्याइएको छ । व्यापारिक रूपमा सञ्चालन समय सन् २०२३ को मध्य अप्रिलमा सम्पन्न गर्ने लक्ष्य छ ।
पहिलो चरणमा बटन स्टेसन, केबलकार, होटल भवन, रेस्टुरेन्ट र पार्किङ संरचनाको काम सकिने छ । दोस्रो चरणमा हिलटपमा चारतारे होटल सञ्चालनमा आउने भएको छ ।
परियोजनाको वित्तीय प्रगति ७६ प्रतिशत सकिएको छ भने टावर र केबलकार संरचनाको काम अन्तिम चरणमा पुगेको छ । यस्तै टावर संरचनाको काम सकिएपछि रोपवे पुलिङको काम सुरु हुने छ ।
हाल परियोजनाको काम जारी रहेको कम्पनीले जनाएको छ ।
बेसमेन्टसहित होटल १७ तलाको हुनेछ । केबुलकार सीधै होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । अहिले होटलको कोठा संख्या ६६ बाट बढाएर ८७ पुर्याइएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ ।
बन्दीपुर गाउँपालिका–४ ठुल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठुल्ढुंगा स्वाँराबाट बरालथोकसम्म जोडिने छ । केबुलकार १.६ किलोमिटरको हुनेछ ।
परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको बताइएको छ ।