म्याग्दी । बेनी नगरपालिका–७ मंगलाघाटमा सडक कालोपत्रे भएको छ । मंगलाघाटदेखि हाडेभीर हुँदै बगरफाँट जोड्ने १ हजार ४०० मिटर लामो सडक कालोपत्रे गर्न ३ वर्ष लागेको हो ।
मंगलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभीरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्रे गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एन्ड सायर–बिएन–त्रिशक्ति जेभीले ५ करोड रुपैयाँमा ठेक्का लिएको थियो ।
२ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो । मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि रोहन श्रेष्ठले मंगलाघाटमा कालोपत्रे गरिसकेको र केही दिनमा हाँडेभीरदेखि बगरफाँटतर्फको सडक पनि कालोपत्रे गरिने बताए ।
सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको आयोजनामा व्यवसायीको लापरबाही र ढिलासुस्ती रहेको मंगलाघाटवासी सुवासकुमार श्रेष्ठले बताउँछन् । सडक कालोपत्रे नहुँदा मंगलाघाटका बासिन्दालाई हिलो र धुलोले सास्ती भएको थियो । कालोपत्रेसँगै हिलो र धुलोको समस्या हटेको छ । साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयवासीले गत वर्ष आन्दोलन नै गरेका थिए ।
हाडेभीर–बगरफाँट भकिम्ली, सिंगा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारी र निषेधाज्ञाका कारण पटकपटक प्रयास गर्दा पनि काम गर्न नपाउँदा ढिलाइ भएको बताए । उनले सडक निर्माण र कालोपत्र गरे पनि सम्बद्ध कार्यालयले बजेट विनियोजन नगरेको हुँदा समस्या भएको बताए ।
अक्सपाल्ट प्रविधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा काम गर्न गाह्रो हुन्छ । यसअघिको दुई वर्षको गर्मीयाममा कालोपत्रको तयारी गर्दा कोरोना महामारी फैलिएपछि रोकिएको थियो । हाँडेभीरदेखि बगरफाँटसम्म नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सुसम्पन्न भएको छ ।