काठमाडौं । लक्ष्य होल्डिङसले सर्वसाधारणबाट गैरकानुनी तवरबाट ठूलो रकम उठाइरहेको नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि थप अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी) लाई लिखित आग्रह गरिएको छ ।
सेयर लगानीकर्तामाझ लोकप्रिय डा.केशव श्रेष्ठ अध्यक्ष रहेको लक्ष्य होल्डिङले नियमविपरीत देशभरबाट सार्वजनिक आह्रवान गरेर पैसा उठाएको पाइएपछि अर्थ मन्त्रालयलाई जानकारी र सीआईबीलाई अनुसन्धान गर्न धितोपत्र बोर्डले सिफारिस गरेको हो ।
लक्ष्य होल्डिङका सञ्चालक सञ्जीव मैनालीले श्रेष्ठको लोकप्रियतालाई बुझेर उनको नाम बेचेर देशभरबाट रकम असुलेको बोर्डको अनुसन्धानबाट देखिएको हो । थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
अर्थ मन्त्रालयलाई पनि लक्ष्यको बारेमा जानकारी गराइएको छ । सीआईबीलाई पनि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि लिखित पत्राचार गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।
सञ्चालक मैनालीले लक्ष्यको सेयर किन्न भन्दै देशभर अभियान नै चलाएका थिए। बजारमा लगानीयोग्य रकमको चरम अभाव भइरहेका बेला पनि अध्यक्ष श्रेष्ठ र सञ्चालक मैनालीले महँगो ब्याजमा ऋण लिएर भए पनि लक्ष्यको सेयर किन्न भनेका हुन् ।
बोर्डले सीआईबीलाई लक्ष्यले गैरकानुनी रुपमा रकम उठाइरहेको देखिएकाले आवश्यक काराबाही गर्न पत्राचार गरेको हो । कानुनसम्मत कामहरु नगर्नुका साथै वित्तीय अपराधमा समेत लागेको देखिएकाले कारबाही गर्न भनिएको हो । श्रेष्ठले न्यूनतम ५ लाख रुपैयाँको सेयर किन्नुस्, यति वर्षपछि प्रतिफल दिन्छौ भनेर भ्रामक विज्ञापन गरेर सेयर बेचाउने कार्य भइरहेको अनुसन्धानबाट देखिएको हो ।
बोर्डले सीइआईबीलाई अनुसन्धान गर्न पत्राचार गर्नेबाहेक धितोपत्र बोर्ड ऐनसमेत लक्ष्यमाथि आकर्षित गर्ने बताएको छ । वित्तीय अपराधअन्तर्गत सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाउँछ भने बोर्ड ऐनअनुसार थप अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ मोहोरा मात्रै, डिजाइन सञ्जीवको
श्रेष्ठ सेयर लगानीकर्ताबीच अत्यन्तै लोकप्रिय व्यक्ति हुन् । उनी सेयर बजारको विश्लेषण गर्ने, कम्पनीको विश्लेषण गर्छन । उनका धेरै फलोअर्स पनि छन् । त्यही लोकप्रियता देखेर सञ्जीवले श्रेष्ठलाई च्यापेको र देशभर उनैलाई सेयर किन्न आह्रवान गर्न लगाएका हुन् ।
श्रेष्ठले भनेको कुरा बजारमा सहजै बिक्ने देखेपछि आफ्नो लोकप्रियतालाई गतल तरिकाले प्रयोग गरेको बोर्डको अनुसन्धानबाट देखिएको छ ।
सञ्जीव एक्लैको प्रयासबाट आफ्नो गैरकानुनी तवरबाट पैसा असुल्ने उद्देश्य पूरा नहुने भएपछि श्रेष्ठलाई अघि सारेका हुन् । देशभर श्रेष्ठले कार्यक्रम गर्दै न्यूनतम ५ लाख रुपैयाँको लक्ष्यको सेयर किन्न भन्दै हिडेका छन।
सीईआईबी भन्छ, पत्र आएको जानकारी छैन
धितोपत्र बोर्डले लक्ष्यमाथि थप अनुसन्धान बढाउन पत्राचार गरेको बताए पनि सीआईबीले अहिलेसम्म आफूहरुले आधिकारिक पत्र नपाएको बताएको छ । सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोका अनुसार अहिलेसम्म लक्ष्यमाथि कारबाही प्रक्रिया अघि बढाउन भनेर पत्र नआएको बताए । बोर्डले अहिलेसम्म गोल्डम्यान इन्भेष्टमेन्टको मात्रै पत्राचार गरेको छ । त्यसबाहेक कुनै पनि कम्पनीमाथि अनुसन्धान गर्न पत्राचार नगरेको उनको भनाइ छ ।