काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शुक्रबारका लागि उडान तालिका एप्रुभ नगरेपछि आन्तरिक उडान प्रभावित हुने निश्चित भएको छ ।
क्यानले बिहीबार एयरलाइन्सहरुलाई पत्रचार गर्दै १६ गते(शुक्रबार)देखि रात्रिकालिन उडान हुने विमानस्थलमा राति १२ बजेसम्मको नयाँ तालिका ल्याउनका लागि निर्देशन दिएको थियो । प्राधिकरणका महानिर्देशक स्तरीय निर्णय गरि एयरलाइन्सलाई नयाँ स्लट अनुसारको उडान तालिका तत्कालै बुझाउन हवाई यातायात विभागका उपप्रबन्धक ज्ञानेन्द्र भुलले पत्रचार गरेका थिए ।
तर,एयरलाइन्सहरुले भने तत्कालै नयाँ तालिका अनुसार(राती ८ बजेदेखि १२ बजेसम्म)को समयमा उडान गर्न असम्भव भएको भन्दै तत्कालका लागि पुरानै तालिकालाई स्वीकृतका लागि प्राधिकरणलाई अनुरोध गरेका थिए ।
प्राधिकरणले भने नयाँ तालिका नआएको भन्दै शुक्रबारको उडान तालिका स्वीकृत(एप्रुभ) गरेको छैन । जसको कारण शुक्रबार विहानैदेखि हुने उडानहरु प्रभावित हुने निश्चित भएको छ ।
वायुसेवा संचालक संघले पुरानै तालिकालाई मान्यता नदिए शुक्रबारदेखिनै उडान रोक्ने निर्णय गरिसकेको छ ।
जबर्जस्ती रात्रिकालीन उडान गर्न दबाब दिँदै प्राधिकरण, शुक्रबारदेखि एयरलाइन्सले उडान रोक्ने
यता प्राधिकरणका अधिकाशं प्रतिनिधिहरु गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडानका लागि गएको कारण एयरलाइन्सहरुको मागमा बिहीबार रातीसम्म कुनै छलफल भएको छैन ।
प्राधिकरणले नयाँ तालिका स्वीकृत नगरेको कारणले उडानहरु के हुने भन्ने नै यकिन नभएको यति एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । हामी नै अन्यौलमा छौं,प्रवक्ता बर्तौलाले भने, उडान हुने वा नहुने शुक्रबार विहान मात्र थाहाँ हुन्छ । यतिले यात्रुहरुलाई दुख नहोस भन्नका लागि शुक्रबार विहान ५ बजेदेखिनै कलसेन्टरमा कर्मचारीहरुलाई परिचालन गर्ने तयारी गरेको जनाएको छ ।
यता श्री एयरलाइन्सले भने सनिवारको टिकट विक्रि बन्द गरिसकेको छ । बुद्ध,यति,गुण लगाएतका अन्य एयरलाइन्सहरुले पनि यात्रुहरुलाई कुनै सुचना दिएको छैन ।
रात्रिकालीन उडान गर्न मिल्नेमा झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थलहरु छन् । ती विमानस्थलमा राति १२ बजेसम्म उडानका लागि आवश्यक तयारी पूरा भइसकेको प्राधिकरणले जनाएको छ ।