काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको बोइङ ३३० ले सफल परीक्षण उडान गरेको छ ।
काठमाडौंबाट दिउँसो ३ बजे उड्ने भनिए तापनि प्रोटोकल फलो गर्दा ढिला भएको थियो । काठमाडौंबाट ५.१२ मा उडेको बोइङ गौतम बुद्धमा ५.५५ मा अवतरण भएको थियो ।
विमानस्थलमै पुगेर पनि डेमोन्स्ट्रेसन फ्लाइट भएकाले गो राउन्ड अर्थात् पुनः एक फनको लगाई अवतरण भएको हो ।
अवतरणपछि बोइङ ३३० रनवेबाट केही अगाडि गएकाले जहाज टर्न गर्न सकेको थिएन । लगभग १५ मिनेट होल्ड गरेपछि मेसिनको सहयोगमा जहाज टर्मिनलअघि पुगेको थियो ।
पर्यटनमन्त्री आलेसहित, नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का पदाधिकारी, विशिष्ट व्यक्तित्वहरूको विमानस्थलमा भव्य स्वागत भएको थियो ।
स्वागत कार्यक्रमपछि शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै क्यानका महानिर्देशक प्रदीप अधिकारीले ७४ वर्षको इतिहासमा नेपाली बोइङले नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्ष गरेको कुरा गर्विलो भएको बताए ।
यसका लागि उनले पर्यटनमन्त्री, सचिवहरू, राष्ट्रिय आयोजना तथा विमानस्थललाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सहयोग गर्नेहरूप्रति आभार प्रकट गरे ।
गौतमबुद्ध सञ्चालन भएसँगै अब ट्राफिकको समस्या घट्ने छ, कार्यकारी अधिकारीले भने, काठमाडौंमा चाप हुँदा भारतको लखनउ, कलकत्ता, बंगलादेश फर्काउनुपर्ने स्थिति आउनेछैन । काठमाडौंपछि भैरहवा अर्को विकल्प तयार भएको छ ।
कार्यक्रमकै दौरान अधिकारीले हवाई क्षेत्रमा विभिन्न समस्या रहेको उल्लेख गरे । यस्तै निजी क्षेत्रलाई लक्षित गर्दै जहाजको टिकट काट्ने तर घण्टौं कुराएर समयमा उडान नगराउने एयरलाइन्सले यात्रुलाई दुस्ख दिएको बताए ।
निजी क्षेत्र पनि व्यापार गर्ने हो, गर्नुपर्छ । तर, जनतालाई दुस्ख दिएर गरेको व्यापार काम लाग्दैन । त्यसैले अबदेखि समयमा उडाउन सक्ने भएर टिकट काट्नू, नत्र नकाट्नूु, उनले भने ।
निवार्चन आचारसंहिताका कारण पर्यटनमन्त्री आले भने औपचारिक रूपमा बोलेनन् । जहाजमा १२ क्रु मेम्बरसहित २६६ जना सवार थिए ।