काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको ‘मोटिभेसनल सेसन बिद सोनु शर्मा’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइफले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिमा प्रशिक्षकमार्फत मोटिभेसनल सेसन सञ्चालन गरेको थियो ।
मोटिभेसनल सेसन कार्यक्रममा देशभरिबाट १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरू सहभागी भएका थिए । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताहरूले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको बताएका छन् ।
उनले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बिमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरूलाई निरन्तरता दिने बताएका छन् ।
सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २१ करोड रुपैयाँ छ भने लगानी १ खर्ब ३८ अर्ब ८२ करोड रुपैयाँ छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोषमा १ खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोषमा ९ अर्ब ६७ करोडभन्दा बढिरहेको छ ।
२ लाख ३ हजार जना बढी प्रशिक्षित अभिकर्ता रहेको उक्त कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेसनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिमा प्रशिक्षकमार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरूका लागि व्यापार लक्ष्यसहितको स्कीम ल्याउने बताएका छन् ।
त्यस्तै नेसनल सेल्स म्यानेजर उमापति पोखरेलले हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति नेसनल लाइफमा बिमित भइसकेको बताएकी छन् ।
साथै ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बिमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने उनको भनाइ छ । कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए ।