काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई जबर्जस्ती रुपमा रात्रिकालीन उडान गर्न निर्देशन दिएको छ ।
बिहीबार एयरलाइन्सहरुलाई पत्र पठाउँदै शुक्रबारदेखि रात्रिकालीन उडान गर्न निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन लगत्तै एयरलाइन्सहरुले शुक्रबारदेखि पुरानै स्लट अनुसार उडान तालिका नदिए उडान रोक्ने भएको छ ।
वायुसेवा सञ्चालक संघ नेपालको आकस्मिक रुपमा बसेको बैंठकले प्राधिकरणले शुक्रबारदेखि पुरानै स्लटमा उडानका लागि अनुमति नदिए उडान रोक्ने निर्णय गरेको प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राधिकरणले एयरलाइन्सहरुलाई कुनै तयारी बिना जबर्जस्ती रुपमा रात्रिकालीन उडान गर्न निर्देशन दिएको भन्दै यात्रुहरुको अलपत्र पर्ने उनको भनाइ छ ।
एयरलाइन्सहरुलाई तयारी बिनानै रात्रिकालीन उडानका लागि निर्देशन दिएपछि एयरलाइन्सहरु प्राधिकरणदेखि आक्रोशित भएका हुन् । विविध प्राविधिक कारणले गर्दा हाललाई राति ८ बजेपछिका नियमिततर्फका उडानहरु गर्न सक्ने अवस्था नरहेको साथै उक्त विषयमा अन्य पूर्वधार र सम्भावनासम्बन्धी विस्तृत छलफल गर्न प्राधिकरणसँग समय माग गरिरहेको अवस्थामा १४ गते(बुधबार) जारी भएको स्लटसम्बन्धी नयाँ व्यवस्था अनुरुपको तालिका संलग्न गरेर एयरलाइन्सहरुलाई पठाएको थियो ।
एयरलाइन्सहरुले भने वैशाख ३ गतेकै स्लटसम्बन्धी व्यवस्था हाललाई लागू गर्न संघले अनुरोध गरेको प्रवक्ता कडेलको भनाइ छ । संघको आग्रहअनुसार अनुमति नपाएमा बुद्ध एयर,यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सका उडानहरु स्लट संशोधन नभएसम्मका लागि उडानहरु स्थगित गरिने जानकारी दिएका छन् ।
शुक्रबारदेखिनै रात्रिकालीन उडान गर्दा एयरलाइन्सहरुले तत्कालै यात्रुहरु नपाउने र विहान र दिउँसोका लागि टिकट काटेका यात्रुहरु अलपत्र पर्ने व्यवसायीहरुको ठहर छ । रात्रीकालीन उडान गर्ने नाममा प्राधिकरणले अव्यवहारिक निर्णय गरेको भन्दै तत्कालै फिर्ता लिनका लागि समेत अनुरोध गरेका छन् । रात्रिकालीन उडानका लागि समय थप गर्न सक्ने बताए पनि त्यसका लागि तयारीका लागि समयनै प्राधिकरणले नदिएको आरोप उनिहरुको छ ।
प्राधिकरणले भने काठमाडौंमा बढ्दो एयर ट्राफिक जामलाई नियन्त्रणका लागि शुक्रबारदेखि तराईका विमानस्थलहरुमा १८ घण्टा संचालन गर्ने र जेठ दुई गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तो छ प्राधिकरणले पठाएको नयाँ तालिका