काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ‘एफएनसीसीआई’ र नेपाल पर्यटन बोर्डबीच मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले महासंघ सचिवालयमा बिहीबार हस्ताक्षर गरेका हुन् ।
एफएनसीसीआई र बोर्डले बिहीबार पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । अब दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन् ।
समझदारी अनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तिनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने जनाएको छ ।
त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेसन, पार्कलगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमति कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिबद्धता पनि जनाए । कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा बृहत् कार्यक्रम आयोजनाको प्रस्ताव गरे ।
पर्यटन क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्ने जोड दिए । पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुपर्नेमा जोड दिए । विमानस्थललाई सस्तो र सुलभ बनाउन सरकारको सहयोग आवश्यक रहेको गोल्छाले बताए ।
साथै नेपालले गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ पहल गर्नुपर्ने सुुझाव दिए ।
काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुधारमा जोड दिनुपर्ने धारणा राखे । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय सहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए ।
बोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । पर्यटन विकासमा महासंघका अध्यक्षले राखेका सुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाए ।
पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन उहांले आग्रह गरे । सो अवसरमा दुवै जनाले भारतीय र चिनियाँ पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताए । महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले धन्यवाद मन्तव्य दिंदै समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।