काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङबाट सेयर निष्कासन प्रक्रियाको पहिलो चरणको काम सम्पन्न भएको छ । कम्पनीले बिल्डिङबाट सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग सम्झौता गरेसँगै पहिलो चरणको काम सम्पन्न भएको हो ।
बुक विल्डिङ निर्देशिका २०७७ मा कम्पनीले आईपीओ निष्कासन गर्न नेप्सेसँग सम्झौता गर्छ । सोहीअनुसार कम्पनीले वैशाख १४ गते बुधबार नेप्सेसँग सम्झौता गरेको छ ।
सो सम्झौतासँगै अब कम्पनीको सेयर मूल्य एकिन गर्ने बाटो खुलेको छ । सम्झौतामा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सर्वोत्तमका तर्फबाट प्रबन्ध निर्देशक विष्णुप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
हाल सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्ने भएको छ । निष्कासन गरिने ६० लाख कित्ताको ४० प्रतिशतले हुन आउने २४ लाख कित्ताका लागि योग्य संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन् ।
बाँकी रहेको ३६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वसाधारणका लागि निष्कासन गरिने सेयर ‘कट अफ’ मूल्यको १० प्रतिशत छुट गरी बिक्री गरिनेछ ।
धितोपत्र बजार नेप्सेसँगको सम्झौतापछि सर्वोत्तमको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको परामर्शमा प्रारम्भिक विवरण पत्र तयार गर्नेछ । विवरणपत्रमार्फत योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागिता जनाउन आह्वान गरिनेछ ।
योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक गरिने विवरण पत्रमा निष्कासन हुने धितोपत्रको संख्या, धितोपत्रको अनुमानित मूल्य र मूल्यांकनको आधार र औचित्य उल्लेख हुनेछ ।
त्यसपछि सर्वाेत्तमले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र योग्य संस्थागत लगानीकर्ताहरुको सहभागितामा विवरणपत्र उपर छलफल कार्यक्रम सञ्चालन गर्नेछ ।
उक्त कार्यक्रम सञ्चालन अगावै संगठित संस्था सर्वोत्तम सिमेन्टले समय र स्थान तोकेर कम्तीमा सात दिनअघि योग्य संस्थागत लगानीकर्ताहरुलाई लिखित अथवा राष्ट्रिय दैनिकमार्फत जानकारी गराउनेछ ।
छलफल कार्यक्रममा सर्वोत्तमले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण उपलब्ध गराउनेछ ।
‘कट अफ’मा मूल्यको १० प्रतिशत छुटमा सर्वसाधारणले सर्वोत्तमको सेयर पाउनेछन् तर हाल कायम व्यवस्था अनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । प्रतिआवेदक बाँडफाँट हुँदा ५० कित्ता नै पाउने गरी बाँडफाँट गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।