काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.४९ प्रतिशत हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले ६ देखि ९ महिनासम्मको आर्थिक आँकडा तथा सूचनाको आधारमा यो आर्थिक वृद्धि अनुमान गरिएको हो । उपभोक्ता मूल्यमा भने आर्थिक वृद्धि ५.८४ प्रतिशत रहेको विभागले जनाएको छ ।
यो एक दशकको औसत वृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि २.४२ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो ।

कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ । गत वर्ष प्रारम्भिक अनुमान भने ४.०१ प्रतिशत आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो ।
विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एसियाली विकास बैंक(एडीबी), विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ ।

चालू आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो । प्रक्षेपण सरकारले गरेको लक्ष्य भन्दा कम हो ।
हालका दिनमा कोरोनाको प्रभाव ज्यादै न्यून रहेको र यस आर्थिक वर्षसम्म आर्थिक गविविधिहरु सामान्य किसिमले सञ्चालन हुने अनुमान विभागको छ । आर्थिक वर्ष ०७३/०७४ मा आर्थिक वृद्धि हालसम्मकै उच्च ८.६ प्रतिशत भएको थियो ।
यस्तै ०७४/०७५ मा ७.४ र ०७५/०७६ मा ६.४ प्रतिशतमा झरेको थियो । कोरोना महामारीका कारण ०७६/०७७ मा आर्थिक वृद्धि ऋणात्मक हुनु पुग्यो । जीडीपीमा प्राथमिक क्षेत्रको योगदान घटेको छ भने द्धितिय र सेवा क्षेत्रको बढेको छ ।
जसअनुसार २.९५ बाट घटेर २.४४ प्रतिशतमा झरेको छ । यस्तै द्धितिय क्षेत्र ४.३६ बाट बढेर १०.२९ प्रतिशतमा पुगेको अनुमान विभागको छ । सेवा क्षेत्रको पनि ४.१९ प्रतिशतले बढेर ५.९३ प्रतिशतमा पुगेको अनुमान विभागको छ ।
प्राथमिक क्षेत्रमा कृषि, वन, मत्स्य र खानी पर्छन भने द्धितिय क्षेत्रमा उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छन । सेवाअन्र्तगत थोक तथा खुद्रा व्यापार, आवास, यातायात, सञ्चार, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेशागत, सार्वजनिक प्रशासन, रक्षा, शिक्षा तथा स्वास्थ्य पर्छन ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बढेपछि औद्योगिक क्षेत्रको जीडीपीमा योगदान बढेको पाइएको छ ।
धानवाली उत्पादनमा भएको गिरावटले प्राथमिक क्षेत्र समूहको योगदान घटेको विभागले जनाएको छ । आवास तथा भोजन सेवा, यातायात र व्यापार तथा निर्माण क्षेत्रमा वृद्धि भएकाले सेवा क्षेत्रमा बढोत्तरी देखिएको हो ।
