काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।
बुधबार दिउँसो कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र गुणस्तर प्रमामीकरणका बिषयमा छलफल भएको थियो ।
सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताए । ‘दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु । तर, तपार्इंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’, उनले भने । मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिएका छन् ।
‘हामीले उन्नत जातको बीउ प्रयोग गर्यौं भने यसै बर्षदेखि कम्तीमा ३ गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं’, उनले भने, ‘मंसिरमा धान काट्दा उत्पादन ३ गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’ उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने पनि उनले बताए ।
‘उन्नत बीउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ’, अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बीउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्’, सचिव मरासिनीले भने ।
छलफलमा कृषिसचिव डा. गोबिन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बीउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै उन्नत जातको बीउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिए ।