काठमाडौं । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ ।
भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ । समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ ।
उद्योगलाई राती १२ घण्टासम्म बिजुली कटौती हुने उनले जानकारी दिए । दिउँसो कटौति नहुने उनले स्पष्टपारे । आपूर्ति बढ्न साथ बिजुली आपूर्ति नियमित हुने छ ।
प्राधिकरणले भारतबाट द्विपक्षीय सम्झौता, इनर्जी एक्सचेञ्जलगायतबाट बिजुली आयात गरिरहेको छ ।भारतमा बिजुलीको मूल्य प्रतियुनिट १२ भारु रहेको छ । यो मूल्यमा पनि बिजुली पाउन कठिन भएको छ ।
प्राधिकरणले हाल भारतबाट दैनिक ३०० देखि ३५० मेगावाट बराबर बिजुली आयात गरिरहेको छ । इनर्जी एक्सचेञ्ज बजारमा हरेक १५ मिनेटको एक स्ल्याब तयार गरी ९६ वटा स्लट तय गरिएको छ ।
त्यसमा दैनिक नै सेयर बजारमा जसरी बिजुलीको खरिद र बिक्री मूल्य तय हुन्छ । प्राधिकरण सहभागी हुने बोलपत्र प्रक्रियामा औसतमा ७० देखि १०० मेगावाट बराबर मात्रै बिजुली प्राप्त हुने गरेको छ । ५०० मेगावाट बिजुली माग गर्दा १०० मेगावाट मात्र दिइरहेको कुलमानले सुनाए ।
हाल देशभर बिजुलीको माग बढेर १ हजार ६०० मेगावाटको हाराहारीमा छ । देशभित्र आन्तरिकरुपमा १ हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध बाँकी रहने ३०० मेगावाट बिजुली जोहो गर्न समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
५०० मेगावाटको बिजुलीका लागि बोलकबोल गर्दा समेत बिजुली पाउन सकिएको छैन । भारतमा कोइलाको आपूर्तिमा समस्या पैदा भएको छ भने अन्तर्राष्ट्रिय बजारमा नै कोइलाको मूल्यमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ”, कार्यकारी निर्देशक घिसिङले भने , “थप एक महिना हामीलाई माग र आपूर्ति सन्तुलन मिलाउन समस्या भएको छ ।”
चैतमा बिजुली उत्पादनमा सुधार भएकोमा वैशाख लागेपछि केही घटेकाले आपूर्तिमा असर परेको उनको भनाई छ । भारतमा बिजुलीको माग बढेकोले बिहारलगायत अन्य युटिलिटीले बिजुली दिन नसकेको उनको भनाई छ ।
आगामी एक महिनाभित्रमा मनसुन सुरु हुने र खोलामा पानीको सतहसमेत बढ्ने भएकाले कुनै समस्या नहुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घरायसी ग्राहकका लागि कुनै समस्या नहुने तर औद्योगिक ग्राहकका लागि भने केही समस्या पर्ने बताए ।
काठमाडौँ उपत्यकालगायत औद्योगिक क्षेत्रमा समेत माग बढेको तथ्य पेश गरे । कार्यकारी निर्देशक घिसिङले आन्तरिकरूपमा बिजुली व्यवस्थापनका लागि अधिकतम प्रयास भइरहेको र माथिल्लो तामाकोसीलगायतका आयोजनाबाट ठूलो राहत भएको समेत बताए । भारतमा ऊर्जाको ठूलो संकट आएपछि आधा उद्योग बन्द हुनुका साथै कतिपय राज्यमा लोडसेडिङ गरिएको उनको भनाई छ ।