काठमाडौं । उपत्यकामा बढ्दो बिजुलीको मागलाई धान्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन पूर्वाधार निर्माणको काम सुरु गरेको छ । प्रस्तावित प्रसारण लाइन पूर्वाधार बनाउन ४० देखि ५० अर्ब रुपैयाँसम्म लाग्ने अनुमान प्राधिकरणले गरेको छ ।
अहिले जेनतेन ५०० मेगावाटसम्म बिजुली आपूर्ति धान्न सक्ने मात्र पूर्वाधार भएकाले क्षमता बढाउन प्रसारण लाइन, सबस्टेसन पूर्वाधार निर्माणको तयारी गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले राजधानीमा साढे ३०० देखि ५०० मेगावाटसम्म बिजुली खपत हुने गरेको छ ।
पुरानो तथा कम क्षमताका प्रसारण प्रणालीले गर्दा काठमाडौं उपत्यकालगायत अन्य प्रमुख सहरहरुमा बिजुली आपूर्ति अनियमित हुने गरेको छ । प्रस्तावित पूर्वाधार तयार भएमा झ्यापझ्याप बत्ती जाने समस्याको समाधान भई दिगो रुपमा भरपर्दो बिजुलीको आपूर्ति हुने घिसिङको भनाइ छ ।
उनले आगामी सन् २०५० सम्म काठमाडौं उपत्यकामा बिजुलीको माग बढेर ३१०० मेगावाट पुग्ने जानकारी दिए । प्राधिकरणले १३२ केभी र २२० केभी प्रसारण लाइन प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने उपत्यका वरपरको डाँडालाई प्रसारण लाइनको रिङरोड बनाउने योजना रहेको कुलमानले सुनाए ।
ठूलो विद्युत् पूर्वाधार बनाउन एसियाली विकास बैंक (एडीबी) लगायत अन्य दातृ निकायहरुसँग छलफल भइरहेको र प्राधिकरणले थप १८ वटा नयाँ सहरमा पनि प्रसारण लाइन पूर्वाधार बनाउने अध्ययन भइरहेको सुनाए ।
यस्तै २२० केभी लाइन बालाजुमा पुर्याउने, बाराको निजगढबाट ललितपुरको डुकुछापसम्म ४०० केभी प्रसारण लाइन बनाउने तयारी भइरहेको घिसिङले जानकारी दिए ।
इनरुवा–ढल्केबर–हेटाैंडा ४०० केभी प्रसारण लाइनअन्र्तगत निजगढमा अर्को ४०० केभी सबस्टेसन बनाउने योजना प्राधिकरणको छ ।
यस्तै उपत्यकाको नदी करिडोरमा १३२ केभी प्रसारण लाइन बन्ने छ । हुलाकी राजमार्गआसपास क्षेत्रमा प्रसारण लाइन बन्दैछ । ४०० केभी प्रसारण लाइन बनाउन अहिले भारतको वापकोर्स इन्डिया लिमिटेड पावर ग्रीड कर्पोरेसनले सम्भाव्यता अध्ययन गरिरहेको छ ।
वीरगन्ज करिडोरमा २५०० मेगावाट बिजुली आपूर्ति गर्ने प्रणाली बनाउन आवश्यक भएपछि अहिले प्राधिकरणले काम थालेको छ । हुलाकी राजमार्गमा प्रसारण लाइन बनाएपछि धेरै उद्योगहरु आउने छन् ।
प्रसारण लाइन पूर्वाधार बनाउन सरकारसँग हारगुहार गर्नुभन्दा प्राधिकरणले गर्दै आएको नाफालाई लगानी गर्ने योजना रहेको कुलमानले जानकारी दिए ।