काठमाडौं । काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले भोलि (बिहीबार) देखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम बिहान ९ बजे सुरु भएर १० बजे सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज (बुधबार) पनि ११ बजेदेखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो ।
व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत ७७ जिल्ला संघहरुले आज पनि आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा (बिहान ११ देखि १२) धर्ना दिएका छन् ।
महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागू हुने गरी कन्स्ट्रक्सन होलिडे मानिने स्पष्ट पारेको छ ।
कन्स्ट्रक्सन होलिडे को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ । अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।