अमलेखगञ्ज, बारा । अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट मंगलबारदेखि औपचारिक रुपमा डिजेल आयात सुरु भएको छ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको पाइप लाइनबाट डिजेल आउन थालेको हो ।
पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका छन ।
नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर आयोजनाको उद्घाटन गरेका छन ।
उद्घाटनसँगै बिहारको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रन सुरु भएको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइने नेपाल आयाल निगमले जनाएको छ ।
मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।
पाइप लाइनबाट दैनिक झण्डै ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ रुपैयाँ ढुवानी खर्च जोगिने छ ।
पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च जोगिने हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ ।
देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । आयल निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।
सन २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो ।
पाइपलाइन परियोजनाको लागत २ अर्ब ७५ करोड भारतीय रुपैयाँ अर्थात ४ अर्ब ४० करोड नेपाली रुपैयाँ छ ।