काठमाडौं । विभिन्न १० वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि इलेक्ट्रिक गाडी (इभी) मा भने लगाएको छैन । सरकारले विभिन्न १० प्रकारका सामानहरु आयात गर्न प्रतिवन्ध लगाउँदा इभीलाई सहुलियत दिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विलासी उपभोग्य सामान नेपाल भित्राउन रोक लगाउने भन्दै कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथि) जीप, कार र भ्यानहरु आयातमा प्रतिबन्ध लगाएको जानकारी गराएको छ ।
सरकारले आयात प्रतिबन्ध लगाएको वस्तुमा इलेक्ट्रिक गाडीको एचएस कोडलाई समावेश गरेको छैन ।
यसअघि नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा विदेशी वस्तु आयात गर्दा एलसी खोल्न बैंकले रोकेका थिए । सबैभन्दा बढी गाडीको एलसी बन्द हुँदा सँगैं इभीको पनि एलसी बन्द थियो । तर, सरकारले राजपत्रमा नै इभीको एचएस कोड समावेश नगरी आयातमा प्रतिबन्ध नरहेको स्पष्ट पारेको हो ।
अर्थ मन्त्रालयका एक अधिकारीले आयात प्रतिबन्धको सूचनामा एचएस कोड समावेश छैन भने त्यो प्रतिबन्ध नरहेको जानकारी दिएका छन् ।