काठमाडौं । बिजुलीको पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केवल टेलिभिजनको लाईन काट्ने भएको छ ।
विद्युत प्राधिकरणले वैशाखभित्र पोलभाडाको वक्यौता बुझाउन, सम्झौताको नविकरण गर्न समय दिएको छ । वैशाखभित्र वक्यौता भुक्तानी र नविकरण नगरे इन्टरनेट र केवल टेलिभिजनको लाइन काट्ने प्राधिकरणले जानकारी गराएको छ ।
पोलभाडाको वक्यौता भुक्तानी र नविकरण सम्झौता नगरेसम्म सेवा विस्तार नगर्ने विद्युत प्राधिकरणले सेवाप्रदायकहरुलाई चेतावनी दिएको छ ।
पोल भाडा सम्झौता गर्न केही आईएसपी कम्पनीहरु आए पनि अझै धेरै सेवाप्रदायकहरुले अटेर गरेको आरोप विद्युत प्राकिरणको छ ।
प्राधिकरणको विद्युतीय संरचना प्रयोग तथा अप्टिलक फाइबर भाडामा लिई इन्टरनेट, टेलिफोन र केवल टिभी सञ्चालन हुँदै आएको छ ।
२०७४ साल देखिको पोलको भाडा नतिरेको भन्दै प्रधिकरणले लाइन काट्ने चेतावनी दिएको हो । यसअघि प्राधिकरणले लामो समयसम्म पोलको भाडा नतिरेको भन्दै असोजमा इन्टरनेटको तार काटेको थियो ।
त्यसपछि विद्युत प्राधिकरण, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र प्रयोगकर्ताबीच कात्तिकभित्र पोलको भाडा तिर्ने सम्झौता भएको थियो । उक्त समयसम्म प्राधिकरणले लाइन नकाट्ने सम्झौता भएको थियो ।
सम्झौताबमोजिम पोल प्रयोगकर्ताले रकम नतिरेको भन्दै प्राधिकरणले पुनः लाइन काटिदिने बताएको हो । पछिल्लो समय विद्युत प्राधिकरण र इन्टरनेट र केवल टेलिभिजन प्रदायकबीच पोल भाडाका विषयमा विवाद हुँदै आएको छ ।