काठमाडौं । एजेन्टको रुपमा काम गर्दै आएका मर्चेन्ट बैंकलाई भेन्चर क्यापिटलको लाइसेन्स दिन खोजिएको छ । निश्चित उद्देश्यसहित सञ्चालनमा आइरहेका मर्चेन्ट बैंकलाई एसेट्स म्यानेजमेन्टका लागि समेत लाइसेन्स दिने तयारी धितोपत्र बोर्डको छ ।
बोर्डले बनाएको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ ले के–कस्ता कम्पनीले भेन्चर क्यापिटलको लाइसेन्स पाउने भन्ने प्रष्ट रुपमा व्याख्या गरेको छ ।
नियमावलीमा सञ्चालनको सुरुवाती क्रममा रहेका वा सञ्चालनको प्रक्रिया अघि बढिसकेका वा सञ्चालनमा रहेका नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न सेयर स्वामित्व पुँजी वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोषलाई भेन्चर क्यापिटलको रुपमा व्याख्या गरिएको छ ।
तर, मर्चेन्च बैंक सेकेन्डरी साइडमा काम गर्ने गरी खुलेका संस्था हुन् । नेपालमा मर्चेन्ट बैंकले म्युचुअल फन्ड निकाल्छन् । यिनीहरुले इन्भेस्टमेन्ट बैंकिङको काम गर्दै आएका छन् । स्थापित संस्थाहरुलाई मर्ज÷एक्वायरको काम गराउने, पैसा उठाइदिने, परामर्श सेवा दिने, कम्पनीहरुलाई पब्लिकमा लैजानका लागि सहजीकरण गरिदिने उद्देश्यले मर्चेन्ट बैंकको स्थापना भएको हो ।
तर, अहिले तिनै मर्चेन्ट बैंकहरु भेन्चर क्यापिटलको लाइसेन्स लिन दौडधुप गरिरहेका छन् ।
मर्चेन्ट बैंकले प्राइभेट इक्वीटीको काम गर्ने होइन । उनीहरुसँग प्राइभेट इक्विटी सञ्चालनसम्बन्धी विज्ञता नै हुँदैन । फाइनान्सियल विज्ञता हुँदैमा पूर्ण हुँदैन । मर्चेन्ट बैंकसँग परियोजना विश्लेषण गर्न सक्ने क्षमता नहुने र उनीहरुलाई लाइसेन्स दिन नहुने धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की बताउँछन् ।
फाइनान्सियल प्रोफेसनल र म्यानेजमेन्ट प्रोफेसनलहरु मिलेर प्राइभेट इक्विटी चलाउने अन्तर्राष्ट्रिय अभ्यास रहेको पूर्वअध्यक्ष कार्कीको भनाइ छ ।
सूचीकृत नभएका कम्पनीको प्राइमरी सेयर किनेर वा बिग्रिएका कम्पनीको सेयर किनेर त्यसलाई पूर्णरुपमा सफल बनाएर सूचीकृत गराउने काम भेन्चर क्यापिटलको हो ।
फाइनान्स, अपरेसन, मार्केटिङ र मानव संसाधनमा विज्ञता भएकाहरुले क्यापिटल भेन्चर चलाउने हो । मर्चेन्ट बैंकसँग त्यो तहको विज्ञता नहुने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
मर्चेन्ट बैंकले जोखिम नलिई माथिल्लो तहमा बसेर एजेन्टको रुपमा काम गर्छ । यद्यपि, मर्चेन्ट बैंक र भेन्चर क्यापिटलबीच सहकार्य हुन सक्छ । त्यो भनेको भेन्चर क्यापिटलमा आबद्ध भएको कम्पनीलाई सूचीकृत गराउने अवस्थामा मर्चेन्ट बैंकको योगदान हुन सक्छ, त्यहाँ सहकार्य हुन्छ ।
संसारमा प्राइभेट इक्विटी र मर्चेन्ट बैंक एउटैले गरेको पाइँदैन । दुइटाको फरक–फरक उद्देश्य पूरा गर्न खुलेका फरक संस्था हुन् । तर, नेपालमा एउटै कम्पनीले दुइटा लाइसेन्सका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बनाउने बेलामा मर्चेन्ट बैंकलाई भेन्चर क्यापिटलको लाइसेन्स दिने कुरा थिएन । सुरुमा लाइसेन्स आह्वान गर्दा पनि कुनै पनि मर्चेन्ट बैंकले आवेदन दिन नपाइने गरी खुलाइएको थियो ।
नेपालमा चलिरहेका भेन्चर क्यापिटलहरुले वैधानिक रुपमा लाइसेन्सका लागि आवेदन दिन्छन् भन्ने सोच राखिएको थियो । किनभने, त्यो कानुन बनाउँदा नेपालमा भेन्चर क्यापिटल चलाइरहेकाहरु आबद्ध थिए । पछि उनीहरुले कानुनमा उल्लेख भएका व्यवस्थालाई लिएर लाइसेन्सका लागि बोर्डमा आवेदन दिएनन् ।
भेन्चर क्यापिटलहरुले आवेदन नदिएपछि घुमाउरो पारामा मर्चेन्ट बैंकलाई लाइसेन्सको बाटो खोलिएको जानकारहरु बताउँछन् । खासगरी, नबिल इन्भेस्टमेन्टले सिंगापुर बेस भेन्चर क्यापिटललाई नेपाल ल्याउने भनेर बोर्डको तत्कालीन नेतृत्वलाई कन्भिन्स गराएको थियो । सिंगापुरको कम्पनी आउँछ भने मर्चेन्ट बैंकलाई किन लाइसेन्स नदिने भनेर घुराउरो व्यवस्था गरिएको जानकारहरुको बुझाइ छ ।
एनआईसी एसिया क्यापिटल, नबिल इन्भेस्टमेन्ट, लक्ष्मी क्यापिटल, एनएमबी क्यापिटल, एनआईबीएल एस क्यापिटलले प्राइभेट इक्विटीका लागि आवेदन दिएका हुन् । ५ वटासँग मर्चेन्ट बैंकको लाइसेन्स छ । एउटै कम्पनीलाई संसारभर दुइटा लाइसेन्स कहिँ पनि दिइँदैन । मर्चेन्ट बैंक र प्राइभेट भेन्चर क्यापिटलको कार्य विल्कुलै फरक रहेको सम्बद्ध क्षेत्रमा काम गरिरहेकाहरु बताउँछन् ।