काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन् ।
मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएकाे हाे ।
भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेन्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधबार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेन्डा तय गरिनेछ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन् ।
भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको छ ।