काठमाडौं । सरकारले विमानस्थल शुल्क नियमावली २०७८ मार्फत अस्वाभाविक शुल्क वृद्धि गरेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आपत्ति जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाद्वारा जारी विज्ञप्तिमा बढाएको शुल्क तत्कालै फिर्ता लिन समेत सरकारलाई अनुरोध गरिएको छ ।
कोभिडपछि पर्यटनक्षेत्र केही चलायमान हुन थालेको र पर्यटकको आगमन पनि क्रमशः वृद्धि हुने अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी हुने निर्णयको विरोध नाट्टाले गरेको छ ।
अध्यक्ष थापाले पर्यटन व्यवसायसँग सम्बन्धित नीतिनियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत अनुरोध गरेका छन् ।
सरकारले संशोधन गरेको नयाँ नियमावलीलाई २०७७ चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । स्वीकृत ‘विमानस्थल सेवाशुल्क नियमावली २०७८’ जारी भएको ३५ दिनपछि अर्थात् जेठ १५ बाट लागू हुनेछ ।
यसअघि अन्तर्राष्ट्रिय यात्रु (सार्क राष्ट्रका लागि उडान गर्ने यात्रु) को हकमा ७ सय ५० रुपैयाँ र अन्य यात्रुको हकमा १ हजार रुपैयाँ प्रतियात्रु सेवाशुल्क संकलन गरिन्थो । तर, नयाँ नियमावलीसँगै अन्तर्राष्ट्रिय यात्रुलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ सेवाशुल्क लाग्नेछ ।
यस्तै आन्तरिक हवाई यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लिने गरी नियवमाली संशोधन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७१÷०७२ देखि विमानस्थलको रनवे परिर्वतन गर्न आर्थिक स्रोत व्यवस्थापनका लागि भन्दै अन्तर्राष्ट्रिय हवाई यात्रुसँग ५ वर्षका लागि विमानस्थल विकास शुल्क उठाउन सुरु गरेको भए तापनि उक्त नियम हालसम्म कायम छ ।
त्यति बेला विमानस्थलले प्रतिव्यक्ति १ हजार शुल्क उठाउँदै आएको थियो ।