काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जामलाई कन्ट्रोल गर्नका लागि उडान समय बढाउने भएको छ । विशेष गरेर आन्तरिकतर्फ बढेको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै वैशाख १५ गतेदेखि तराईका ६ विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
योसँगै जेठ २ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २४ सै घण्टा उडान गर्ने भएको छ । ‘अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैन, महानिर्देशक अधिकारीले भने, पोखरा क्षेत्रीय विमानस्थल पनि सञ्चालनमा आएपछि २४ सैं घण्टा चल्छ ।’
पछिल्लो समय बढ्दो यात्रुहरुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रुपमा घण्टौंसम्म एयर ट्राफिक जाम हुँदा यात्रुहरुले सास्ती बेहोर्दै आइरहेको बेला प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणले तराईका विमानस्थल जहाँ रात्रिकालीन उडान गर्न मिल्छ ती विमानस्थलमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म उडान गर्ने भएको हो ।
रात्रिकालीन उडान गर्न मिल्नेमा झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थलहरु छन् । ती विमानस्थलमा राति १२ बजेसम्म उडानका लागि आवश्यक तयारी पूरा भइसकेको प्राधिकरणले जनाएको छ ।
उडान समय बढाउँदा आर्थिक गतिविधिमा समेत चहलपहल बढ्ने प्राधिकरणको विश्वास छ । सुरु–सुरुमा केही समस्या भएपनि विस्तारै लय समात्दै गएपछि चहलपहल सुरु हुने महानिर्देशक अधिकारीको दाबी छ । रातिसम्म उडान हुने भएपछि ती विमानस्थल क्षेत्रमा सञ्चालित व्यवसायहसमेत चलायमान हुने जनाएको छ ।
अध्ययन गर्दै एयरलाइन्स
रात्रिकालीन उडानका लागि प्राधिकरणले १२ बजेसम्म खुला गर्ने निर्णय भएसँगै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले पनि अध्ययन सुरु गरेको छ । प्राधिकरणले दिएको समयसम्म उडान तालिका थप्दा यात्रुहरुको संख्या कति रहने र उनीहरुलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि छलफल गरिरहेको जनाएको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले प्राधिकरणको निर्णयले नियमित उडानसँगै चार्टर्ड उडान गर्न चाहनेहरुका लागि सहज हुने बताए । सामान्यतयाः राति ८ बजेपछि यात्रुहरु पाउन समस्या हुने बताउँदै चार्टर्ड उडान र जहाज ढिलो भएको बेलामा पनि सहज रुपमा ती विमानस्थलहरुमा जान सकिने भएकाले यस विषयमा छलफल भइरहेको बताए ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि सोच्न आवश्यक रहेको बताए । ‘जहाज भाडाभन्दा गाडीमा जाँदा महँगो भएमा यात्रुहरु जान चाहँदैनन्, प्रवक्ता मानन्धरलले भने, यातायातको सुविधाका लागि प्राधिकरणले सोच्न आवश्यक छ ।’
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले आफूहरुको उडान राति ८ बजेसम्म रहेको र त्यसपछिको समयमा उडान गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । यात्रुहरुको मागअनुसार उडान तालिका थपघट हुन सक्ने उनको भनाइ छ ।