काठमाडौं । सरकारले धरहरा पुनर्निर्माणका लागि चौथोपटक म्याद थप्ने निर्णय गरेको छ । धरहरा पुनर्निर्माणको जिम्मेवारी लिएको कम्पनी रमण कन्ट्रक्सनको म्याद चैतमा सकिए पनि निर्माणको काम नसकिएपछि सरकारले म्याद थप्न लागेको हो ।
रमन कन्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मीका अनुसार अहिले थप भएको सहित गरेर धरहरा पुनर्निर्माणका लागि ४ पटक म्याद थप हुनेछ । धरहरा निर्माणको सरकारी दायित्व सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको एकाइ भवन तथा आवास कार्यालयलाई छ । चैतमा म्याद सकिएको निर्माण कम्पनीलाई अगामी कात्तिकसम्म फेरि समय थप्ने आवास कार्यालयका आयोजना प्रमुख कोषनाथ अधिकारी बताउँछन् ।
यद्यपि आवास कार्यालयले कात्तिकसम्म म्याद थप्ने आन्तरिक तयारी पूरा गरे पनि भवन विभागमा महानिर्देशकले स्वीकृति दिन भने बाँकी रहेको आयोजना प्रमुख आधिकारी बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘आवास कार्यालयले कात्तिकसम्म म्याद थप्ने निर्णय गरेको छ, महानिर्देशक स्वीकृति दिनुपर्ने हुन्छ । तर, अहिले उहाँ नेपालमा नभएर रोकिएको हो । हप्ता १० दिनमा म्याद थपले स्वीकृति पाउँछ ।’
यसअघि रमन कन्ट्रक्सनले २०७९ चैत मसान्तसम्मको म्याद मागेको जनाएको थियो । तर, एकाइ भवन तथा आवास कार्यालयले कात्तिकसम्म मात्रै म्याद थप गरेको हो । धरहराको म्याद थप्ने अधिकार विभागका महानिर्देशकलाई रहेकाले मन्त्रालय वा मन्त्रिपरिषद्सम्म पुग्नु नपर्ने आयोजना प्रमुख कोषनाथ बताउँछन् ।
यसअघि धरहरा पुनर्निर्माणको जिम्मेवारी पुनर्निर्माण प्राधिकरणको थियो । हाल स्वयं प्रधिकरणको म्याद सकिएपछि २०७८ पुस ९ गतेबाट बाँकी धरहराको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गतको एकाइ भवन तथा आवास कार्यालयले लिएको छ ।
रमन कन्ट्रक्सनका पोजेक्ट म्यानेजर सञ्जय नकर्मी विभागले दिएको म्यादमा निर्माणकार्य सम्पन्न हुनेमा विश्वस्त देखिँदैनन् । म्यानेजर नकर्मी भने विभागले कम्तीमा पनि २०७९ पुससम्म म्याद थप्नुपर्ने बताउँछन् ।
‘असोजसम्म धरहारका लागि र पुससम्म बाहिरी निर्माणको काम गर्न म्याद थप हुन्छ पर्ने हो । तर, एसली बन्द गरेकाले पुसमा पनि काम सम्पन्न गर्न कत्तिको सकिन्छ अहिले नै भन्न सक्ने अवस्था छैन’ नकर्मीले भने ।
तर, विभागले भने दसैंमा सर्वसाधारणका लागि धरहरा खुला गर्ने र बाँकी काम गर्न कात्तिकसम्म समय दिने जनाएको छ । आयोजना प्रमुख कोषनाथ भन्छन्, ‘म्याद थप कात्तिकसम्म हो, धरहरा असोजमै खुलाउनुपर्ने गरी सहमति गर्ने हाम्रो तयारी छ ।’
दसैंमा धरहरा खुल्ला गर्ने विषयमा भने रमन कन्ट्रक्सन पनि सकारात्मक छ । म्यानेजर नकर्मि भन्छन्, ‘काम धेरै बाँकी नै छ तर, दसैंमा सर्वसाधारणका लागि खुलाउने गरी काम गर्दैर्छौं ।’
धरहराको उत्तर–पश्चिमतर्फ म्युजियम राख्ने योजनाअनुसार हाल निर्माणकार्य चलिरहेको छ । त्यस्तै जेनेरेटर, हाउस, बगैंचालगायत पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताइएको छ ।
पुरानो धरहरा खुला राख्ने वा अन्य विकल्प अपनाउने भन्ने निष्कर्ष सरकारले नदिएको प्रोजेक्ट म्यानेजर नकर्मीको भनाइ छ । सरकारले उक्त निष्कर्ष नदिँदा निर्माण कार्यमासमेत बाधा पुगेको नकर्मी बताउँछन् ।
त्यसबाहेक सुन्धारामा पानी कहाँबाट ल्याउने र निष्कासन कहाँ गर्ने पनि टुंगो छैन । साथै आगलागी भएका बेला व्यवस्थापन गर्ने, एसी, पार्किङलगायत व्यवस्थापनको कार्य पनि निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।
३ अर्ब ८ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको रमनले सन् २०२१ को डिसेम्बरसम्म २ अर्ब १२ करोड रुपैयाँ खर्च गरिसकेको छ । पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘म बनाउँछु, मेरो धरहरा’ अभियान सुरु गरेका थिए । यस अभियान अन्तर्गत २४ करोड रूपैयाँ संकलन भएको थियो ।
पहिलोपटक प्रधानमन्त्री हुँदा उक्त अभियान चलाएका ओलीले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७५ वैशाख १२ मा धरहरा पनुर्निमार्णको शिलान्यास गरेका थिए । उनै ओलीले २०७८ वैशाख ११ गते ७० प्रतिशत निर्माण कार्य सकिएको धरहराको उद्घाटन गरेका थिए ।
उद्घाटनको समयमा १० महिनापछि अर्थात् २०७८ माघबाट सर्वसाधारणले धरहरा चढ्न पाउने बताइएको थियो । तर, उद्घाटनको एक वर्ष र धरहरा ढलेको ७ वर्ष पूरा हुँदा पनि पुनर्निर्माण कार्य सम्पन्न हुन भने सकेको छैन । हाल धरहराको काम ७८ प्रतिशत सम्पन्न भएको रमन कन्ट्रक्सनले जनाएको छ ।
निर्माणकार्यमा संलग्न इन्जिनियरहरूका अनुसार पुनर्निर्मित धरहराले १० रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्नेछ । २०७२ मा भूकम्प गए पनि पुनर्निर्माणमा विवाद हुँदा २०७५ सालमा भुकम्प गएकै दिन अर्थात् वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने धरहरा २२ तलाको छ । साथै ४ वटा लिफ्टको प्रयोग गरेर धरहराको अवलोकन गर्न मिल्ने बताइएको छ । २०७२ को विनाशकारी भूकम्पले ढलेको काठमाडौंको सुनधारास्थित ९ तले धरहरा भीमसेन स्तम्भको रुपमा समेत चिनिने गथ्र्यो ।