काठमाडौं । नेपाल सालिमार सिमेन्ट प्राइभेट लिमिटेडले २ अर्ब ४५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा सिमेन्ट बिक्रीबाट ९८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।
यस्तै अघिल्लो वर्ष उद्योगले २ अर्ब २४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१८ मा ३ अर्ब ३३ करोड ८० लाख रुपैयाँसम्म सञ्चालन आम्दानी गरेको सालिमारको पछिल्लो वर्ष काेरोना महामारीका कारण व्यापारमा गिरावट आएको छ ।
कोरोना महामारीले गर्दा सन् २०१९ देखि सन् २०२० सम्म उद्योगको व्यापारमा ठूलो असर गर्यो । महामारीको प्रभाव कम भएपछि २०२१ मा उद्योगको व्यापार पुरानै लयमा फर्कन लागेको वित्तीय विवरणबाट देखिन्छ । यद्यपि सरकारको खर्च कम हुने र उद्योगबीच कडा प्रतिस्पर्धाले व्यापारमा असर गर्ने संभावना पनि छ ।
सिमेन्टको मागमा आएको कमीले उत्पादन क्षमतामा गिरावट आउँदा समग्र आम्दानीमा असर परेको उद्योगले जनाएको छ । पछिल्ला वर्षहरुमा ठूला उद्योग आएपछि बजारमा तीव्र प्रतिस्पर्धाले पनि कम्पनीको व्यापारमा असर गरेको छ ।
हाल बजारमा ५५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । यस्तै २० वटा क्लिंकर उद्योग सञ्चालनमा रहेका छन् । अझै ठूला उद्योगहरु सञ्चालनमा आउने तयारीमा छन् ।
अहिले उद्योगले क्षमता विस्तारमा लगानी गर्ने भएको छ । सालिमारले १ अर्ब ६० करोड ६० लाख रुपैयाँ ऋणको इक्रा नेपालबाट रेटिङ गराएको छ ।
जसमध्ये २७ करोड ६० लाख रुपैयाँ दीर्घकालीन र बाँकी १ अर्ब ३३ करोड अल्पकालिन ऋण रहेको छ । दीर्घकालीन ऋणलाई इक्राएनपी एलबीबी माइसन र अल्पकालका लागि इक्रा एनपी ए फोर रेटिङ गरेको छ ।
सन् २००३ अगस्टमा स्थापना भएको उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता ५ लाख ५४ हजार १६० टन रहेको छ । सालिमार ग्रुपले सञ्चालन गरेको उद्योगले ओपीसी, पीपीसी र पीएसी गरी विभिन्न ८ ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । कारखाना बाराको पिपरामा रहेको छ ।